Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : प्रधानमन्त्री राजीनामा दिने मनस्थितिमादेखि नयाँ सरकार गठनको कसरतसम्म


दृष्टि संवाददाता


हेडलाइन्स्

१. प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिने तयारीमा, नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिन समय नलाग्ने धारणा, नयाँ सत्ता समीकरणको तयारी र संदसको गणित आफू अनुकूल नदेखेपछि राजीनामा दिने मनस्थितिमा ।

२. छिट्टै नयाँ सरकार गठन हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर नयाँ सरकार गठन गर्ने नेपाली कांग्रेसको निर्णयसँगै नयाँ राजनीतिक कोर्ष तय भएको धारणा, सबै राजनीतिक दलसँग छलफल गरेर छिट्टै नयाँ सरकार गठन गर्ने उद्घोष ।

३. समानान्तर पार्टी संचालनको अभ्यासमा रहेको नेकपा एमाले माधवकुमार नेपाल समूहले दुई महिने ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गर्यो, वडा तहसम्म समानान्तर कमिटी गठन गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका गलत कामको भण्डाफोर गर्ने उद्घोष, एकतामा आउन अध्यक्ष ओलीलाई आह्वान ।

४. आन्तरिक विवादले नेकपा एमाले विभाजनको संघारमा पुगेको बेला राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय, वरिष्ठ नेता झलनाथ खनालको निवासमै पुगेर पार्टी एकता जोगाउन आग्रह, आफूलाई व्यक्तिगत स्वास्थ्यभन्दा पनि पार्र्टी विभाजन होला भन्ने चिन्ता रहेको खनालको प्रतिकृया ।

५. प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको चेतावनी, ७० वर्षदेखि लडेर ल्याएको व्यवस्था ध्वस्त पार्न ओली सरकार लागिपरेको आरोप, ओलीको विकल्प खोज्नु नै अहिलेका आवश्यकता रहेको धारणा ।

६. सत्ता समीकरण र नयाँ सरकारबारे जनता समाजवादी पार्टी अनिर्णीत, कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्दै नयाँ सरकार गठनको पहल थाल्दा पनि जसपा मौन रहँदा ओलीसँगै सत्ता समीकरण गर्न खोजेको हो कि भन्ने आशंका, ओली विरुद्धको समीकरण बनाउनुपर्ने अधिकांश नेताको धारणा ।

७. सरकारद्धारा एकैपटक १६५ सडकको शिलान्यास, हरेक निर्वाचन क्षेत्रमा एक सडक हुने, ५७ अर्ब १० करोड रुपैयाँ लागतमा तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष ।

८. सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई साता यता कोरोना संक्रमणको संख्या बढ्दो, भारतबाट आउनेहरूमा धमाधम कोरोना देखिन थालेपछि भाइरसको संक्रमण बढ्दै, हालसम्म भारतबाट आएका ८७ जनामा संक्रमण पुष्टि ।

९. विभागीय टोली एपीएफ १९औं संस्करणको आहा–रारा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश, आशिष लामाको एक मात्र गोलको मद्दतमा एपीफए सेमिफाइनल यात्रा तय गर्न सफल, प्रतियोगिता अन्तर्गत आइतबार ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुने ।

१०. कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा, लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाडै ल्याउँदै, बङ्लादेशमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या ९ हजार २ सय १३ पुग्यो ।

प्रतिक्रिया दिनुहोस्