Logo
Logo

कसले सम्हाल्छ अब आङछिरिङका अर्बाैका कम्पनी ?


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १७ फागुन ।
पछिल्लो समय सत्तानिकट सबैभन्दा शक्तिशाली व्यवसायीमा आङछिरिङ शेर्पा थिए । जसले बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाए ।
उनको निधनसँगै उनका अरबौं लगानी रहेका व्यवसाय कसले सम्हाल्छ ? धेरैले यही प्रश्न गर्न थालेका छन् ।


पर्यटन क्षेत्रमा उनको यस्तो साम्राज्य बनिसकेको थियो कि ‘नेपाल घुम्न आउने कुनै पनि विदेशी पर्यटक उनलाई पैसा नतिरी फर्केर जान सक्दैनन्,’ ट्रेकिङ, होटल तथा एयरलाइन्स जस्ता उनका कम्पनीका सेवा कुनै न कुनै पर्यटकले प्रयोग गर्ने भएकाले यस्तो भन्ने गरिएको छ ।

सोलुखुम्बुको पाङ्बोचेमा पर्यटकका भरियाबाट उनको परिवारले काम सुरु गरेको थियो । त्यसपछि ट्रेकिङ हुँदै एयरलाइन्ससम्म उनको साम्राज्य थियो ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्ह्यामू गाउँपालिका–१, पाङ्बोचेको गरिब परिवार जन्मिएका आङछिरिङका तीनै जना दाजुभाइ हिमाल आरोहणमा संलग्न थिए। भारी बोक्ने, पर्यटक घुमाउने र हिमाल चढाउने सीप भएका शेर्पा दाजुभाइले त्यही सीपलाई व्यवसाय बनाउँदै २०४५ सालमा थामशेर्कु ट्रेक तथा एक्सपेडिसन कम्पनी खोलेर व्यवसायमा लागेका थिए ।
अहिले शेर्पा परिवारको स्वामित्वमा एयरलाइन्सदेखि ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी र होटल तथा रिसोर्टहरू छन्। पछिल्लो समय सुपरमार्केट र जलविद्युत क्षेत्रमा पनि लगानी विस्तार गरेका छन्।

उनको स्वामित्वमा रहेका आन्तरिक उडान गर्ने दुई एयरलाइन्समध्ये यति एयरले सुगम क्षेत्रमा उडान गर्दै आएको छ भने तारा एयरले दुर्गममा। सन् १९९८ मा स्थापित यति एयरसँग ३ एटिआर र ७ जेटस्ट्रिम गरी ९ वटा जहाज छन्। यो एयरलाइन्स सञ्चालनले पर्यटन क्षेत्रमा उनको व्यावसायिक साख बढाएको थियो। त्यसपछि उनले दुर्गम क्षेत्रका लागि तारा एयर सञ्चालनमा ल्याए। तारा एयरसँग ६ वटा जहाज छन्। दुवै कम्पनीको जोड्दा आङछिरिङको स्वामित्वमा आन्तरिक उडानतर्फ १५ वटा जहाज सञ्चालन हुँदै आएका छन्। अन्तराष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्समा शेर्पाको ५१ प्रतिशत सेयर छ। यो एयरलाइन्ससँग एयरबस ए ३२० सिरिजका तीनवटा जहाज छन्।

राजधानीको गोकर्ण फरेष्ट रिसोर्ट लिजमा लिएर चलाइरहेका छन् भने चितवनमा कसरा रिसोर्ट र लुम्बिनीमा होके रिसोर्ट उनकै स्वामित्वमा छ। झापामा पाँचतारे होटल निर्माणको क्रममा थिए । दरबारमार्गमा उनको नयाँ कम्प्लेक्स निर्माण भइरहेको छ ।

अर्को चल्तीको पदयात्रा मार्ग अन्नपूर्ण क्षेत्रमा पनि केर एन्ड ड्वेनी नेपालका होटल सञ्जाल छन्। यो क्षेत्रमा उनका पाँचवटा होटल छन्। यस्ता पदयात्रा र हिमाल आरोहणको चाँजो मिलाउन थामशेर्कु ट्रेक तथा एक्सपेडिसन कम्पनीका अतिरिक्त यति एड्भेन्चर पनि सञ्चालित छ। कोरा टुर र यति होलिडेजका नामबाट ट्राभल एजेन्सी पनि चलिरहेका छन्।

उनले ’यति वर्ल्ड’ नामक होल्डिङ कम्पनी खडा गरेर त्यसैअन्तर्गत आफ्नो व्यवसायिक साम्राज्य संस्थागत गर्दै लगेका थिए। यति वर्ल्ड मातहत ३० वटा कम्पनी सञ्चालित छन्। उनको सम्पती ४० अर्बको हाराहार रहेको अनुमान गरिन्छ ।
जेठादाजु लाक्पा सोनाम यति एयरलाइन्सका अध्यक्ष हुन्। यति समूहको पहिलो सफल कम्पनी थार्मशेर्कु ट्रेकिङ सोनाम शेर्पाले आफ्नी पत्नी पासाङ लाम्हु शेर्पासँग मिलेर स्थापना गरेका थिए।पासाङ लाम्हु सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन्। सगरमाथाबाट फर्किनेक्रममा उनको निधन भएको थियो।
यी तीन दाजुभाइका २र२ जना छोरा छन्। यसअनुसार यो व्यापारिक साम्राज्यका उत्तराधिकारी ६ जना दाजुभाइ छन्। अहिलेसम्म आङछिरिङले सम्हाल्दै आएको व्यवसाय छोराहरूको नेतृत्वमा पुगेको छैन। आङछिरिङका दुई छोरामध्ये जेठाले यति इन्सेन्टिभ चलाइरहेका छन् भने कान्छा तारा एयरका नायब प्रबन्धनिर्देशक छन्। त्यस्तै, लाक्पा सोनामका जेठा छोरा थामाशेर्कुका प्रबन्ध निर्देशक छन् भने कान्छा यति एयरलाइन्समै प्रशासन हेर्छन्। कान्छा भाइ आङटेन्डीका जेठा छोरा काठमाडौं उपत्यकाभरि सञ्जाल फैलिएको केके सुपरमार्ट चलाइरहेका छन्। कान्छा छोरा अध्ययनकै क्रममा छन्।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका उनी सबैभन्दा निकट व्यवसायी थिए । नेकपाको केन्द्रीय कार्यालय रहेको धुम्बाराहीस्थित भवन उनले नै दिएका थिए । प्रचण्ड र ओलीलाई मिलाउन पनि उनको भूमिका रहेको बताइन्छ ।
सबै पार्टीका नेताहरुसँग उनको निकटता छ । शक्तिको आडमा आफ्नो व्वयसाय फैलाएको भन्दै उनका कतिपय प्रोेजेक्टहरु विवादमा समेत पर्दथे । मिडियामा कहिल्यै नआउने उनको शक्तिकेन्द्रहरुलाई हातमा लिन सक्ने बिलक्षण क्षमता थियो । उनका अन्य परिवारले व्यवसायिक विस्तारलाई कायम राख्न सक्छन् कि सक्दैनन् ? धेरैको चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्