Logo
Logo

प्रदेश १ सरकार विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिइने


दृष्टि संवाददाता


मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिइने भएको छ । माओवादी केन्द्रले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव फिर्ता लिने भएको हो ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज बोलाइएको प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव फिर्ता लिने बताएका छन् । तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आङ्बोले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा पुस १२ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्तावमा हस्ताक्षर गरेका माओवादीको तत्कालीन संसदीय दलका नेतासहित २३ जनाले हस्ताक्षर फिर्ता लिएपछि माओवादी प्रस्ताव फिर्ता लिन बाध्य भएको हो । अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भइसकेकाले प्रस्तावकले फिर्ता लिने प्रस्ताव बैठकमा लगेर पारित गराउनुपर्छ ।

अविश्वास प्रस्तावकै कारण चालु प्रदेशसभाको हिउँदे अधिवेशनको एउटा मात्रै पूर्ण बैठक बसेको छ । अविश्वास प्रस्ताव पेस भएपछि अल्पमतमा परेको सरकारले प्रदेशसभालाई बिजनेस दिन चाहेको छैन ।

हालसम्म एउटा मात्रै विधेयक प्रदेशसभामा दर्ता भएको छ । अविश्वास प्रस्ताव फिर्ता भएपछि मात्रै प्रदेशसभालाई बिजनेस दिने सरकारको तयारी छ । प्रदेशसभा सचिवालयले बैठकमा माओवादी केन्द्रका लागि छुट्टै कुर्सीको व्यवस्था गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्