Logo
Logo

धरानमा खानेपानीको हाहाकार


दृष्टि संवाददाता


धरान । एशियाली विकास बैंकको सहयोगमा काठमाडौँवासीले मेलम्चीको पानी खान पाएको समाचार आइरहेको बेला एडिबीकै ऋण तथा अनुदान सहयोगमा बजेटको हिसाबले मेलम्चीदेखि तेस्रो ठूलो खानेपानीको परियोजना सम्पन्न भएर पनि धरानवासीले पानी खान पाएनन् ।

एकीकृत शहरी विकास परियोजनाअन्तर्गत एडिबीले ५० प्रतिशत ऋण र ५० प्रतिशत अनुदानमा ६ वर्षअघि शुरु भएको झण्डै साढे २ अर्ब रुपैयाँ बजेटको धरानको खानेपानी योजना गत वर्ष सम्पन्न भयो । एक वर्षसम्मको परीक्षणकाल सकेर पनि ठेकेदार र परामर्शदाता कम्पनीहरु बिदा भइसके । यता, नेपाल खानेपानी संस्थानले पनि धरान शाखाको सम्पूर्ण चल–अचल सम्पत्ति तथा दायित्वको बुझबुझारथ गरिसकेको छ । तर, दिनमा १६ घण्टा स्वच्छ पानी खुवाउने र सात मिटर उचाइसम्म पानी चढ्न सक्ने क्षमताको डिजाइन गरिएको आयोजनाले हाल दुई दिनमा एक घण्टा पनि पानी दिन नसकेपछि नगरवासीहरु खानेपानी व्यवस्थापन बोर्डसँग रुष्ट बन्न पुगेका छन् । बरु उल्टै धरान खानेपानी बोर्डले पाइप चुहावट भएका कारण मर्मत गर्नुपर्ने भएकाले दुई दिन पानी आउन नसक्ने पत्रपत्रिकामार्फत सूचना जारी गरेपछि नगरवासीहरु रुष्ट हुन पुगेका छन् ।

मेरो घरमा पानी नआएको एक हप्ता भयो, बोर्डको निर्देशकलाई भन्यो आइहाल्छ एक दुई दिनमा भन्छन् । अब त अति भएर छिमेकीहरुसँग मिलेर ट्यांकरमा पानी किनेर खानुप¥यो । नयाँ परियोजना आएर टन्न पानी खाउला भनेको खाइस् बूढी हिस्स भनेजस्तो भएको छ भनी वडा नं १५ निवासी नाट्य महासंघका १ नं प्रदेश अध्यक्ष विशाल भण्डारी गुनासो गर्दछन् । धरान छाता चोक पुरानो अस्पताल बस्ने जानुका कटुवालले धरानमा आएर पहिलोपटक धारामा एक हप्तादेखि थोपो पानी नआएपछि बाध्य भएर छिमेकीसँग ऋण सापटी मागेर एक हजारमा एक हजार लिटर ट्यांकरको पानी किनेर खाएको बताउँछिन् । आफूसँग भने त्यही एक हजार लिटर पानी अट्ने ट्यांकी पनि नभएर अर्को बिजोग, किन यसरी दुःख देको होला भनेर प्रतिप्रश्न गरिन् ।

“यो त हदै भयो, त्यत्रो मेहनत गरेर परियोजना ल्याइयो, अब त केही होला भनेको यसले त खानेपानी संस्थानले जति पनि आपूर्ति गर्न नसकेको देख्दा यसैबारे आज उद्योग वाणिज्य संघमा छलफल गर्न मिटिङ बोलाएको कुरा उद्योग वाणिज्य संघ सुनसरीका पूर्वअध्यक्ष मोहनकाजी शाक्य बताउँछन् ।

पानी अभावकै विषयलाई लिएर जनता समाजवादी पार्टी धरानले धरानका मेयरलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले पानीको आपूर्ति चाँडै सहज नबनाए आन्दोलन चर्काउने चेतावनी पनि दिएका छन् । डेढ लाख जनसंख्या भएको धरानमा प्रतिदिन ३ करोड लिटर पानीको आवश्यकता पर्दछ । तर हाल बोर्डले आफूसँग डेढ करोड लिटर पानी भएको दाबी गरे पनि ट्यांकीमा १ करोड लिटर मात्र रहेको बोर्डकै प्राविधिकहरु बताउँछन् ।

पानीका ५० प्रतिशत चुहावट

हाल धरानमा नयाँ परियोजनाको संरचनाबाट ९७ लाख लिटर पानी उत्पादन गर्छ भने खानेपानी संस्थानको पुरानो संरचनामध्ये कुवावाट ६० लाख र सर्दु जलाधार क्षेत्रबाट ४५ लाख लिटर गरी जम्मा १ करोड ९७ लाख लिटर पानी हुनुपर्ने हो । ट्यांकीमा त्यति पानी कहिले जम्मा नहुने गरेको कुरा प्राविधिकहरु नै बताउँछन् । यसको मुख्य कारण बजारमा चुहावट हुनु २०८ वटा सार्वजनिक धारा हुनु रहेको बताइन्छ । ५० प्रतिशत पानी चुहावट हुने धरानमा खानेपानी संस्थानले गुरुयोजनाबिना नै पानी वितरण गर्दै आएकाले कुनै कुनै वडाको टोलमा २४सै घण्टा पनि पानी आउने गरेको छ भने धेरै स्थानमा दुई दिनमा एक घण्टा पनि आउँदैन । हालै धरान उपमहानगरपालिकाले पानी वितरणको अवस्थाबारे अनुसन्धान गर्न खटाएको एक विज्ञहरुको टोलीले दिएको सुझावमा पलम्वरको भरमा सुम्नीमा पानी ट्यांकीबाट पानी वितरण भइराखेकाले यसको गुरुयोजना बनाई परीक्षण गर्नुपर्ने सुझाव दिएका थिए । सोहीअनुसार अहिले पुरानै परामर्शदाता कम्पनीलाई बोलाएर पुनः त्यस ठाउँमा परीक्षण गर्न थालिएको कुरा निर्देशक राजु पोखरेल बताउँछन् ।

पानीमा राजनीति मुख्य कारण

धरानमा पानीको हाहाकार हुनुमा हालका नगरप्रमुख तिलक राईको सुझबुझपूर्ण कार्यको अभाव रहेको कुरा जसपा नगर कमिटीका अध्यक्ष ताजुव लिम्बू आरोप लगाउँछन् । किनभने, उनले नयाँ परियोजना सञ्चालन गर्दा पुराना अनुभवी दक्ष प्राविधिकहरु राखेर काम लगाउनुपथ्र्याे । तर उनले परामर्शदाताले दिएको सुझावविपरीत आफ्नो पार्टीका ४५ जना मान्छेहरुलाई भित्रभित्रै भर्ना गरेर आयोजनालाई ठूलो समस्यामा पारेको बताउँछन् ।

आयोजनाका कर्मचारीहरुले पनि लिम्वूको सो भनाइमा सत्यता रहेको बताउँदै संस्थानका पुराना दक्ष मानिसहरु सबै बोर्डमा आउन मानेनन् । नयाँ पनि चोरबाटोबाट अदक्ष मानिस भर्ना गरेकाले उनीहरुले काम गर्नै जानेका छैनन् । कुन ठाउँमा कसरी पाइप वितरण भएको छ भेउ नपाउँदा पनि पानीको हाहाकार भएको बताउँछन् । धरानमा पानीको समस्या विकरल रुपमा बढिरहे पनि सेउती खोला नजिक खनिएको दुईवटा नयाँ कुवाको पानी वितरण गरिएको छैन । झण्डै ३२ लाख लिटर पानी आउने सो दुईवटा कुवा मेयर र उपमेयरबीचको असमझदारीका कारण प्रयोग नगरिएको नगरपालिकाका कर्मचारीहरु बताउँछन् ।

नगरप्रमुख राईले २ वर्षअघि तत्कालीन कावा नगरप्रमुख मन्जु भण्डारीलाई विपक्षी दल नेपाली कांगे्रसको धरान नगरसमितिको तर्फबाट खानेपानी संस्थानलाई बोर्डमा गाभ्न नहुने भन्दै ज्ञापनपत्र बुझाउन गएका थिए । सौभाग्यवश हालका नगरप्रमुख राई नै उपनिर्वाचनमा नगरप्रमुख पदमा विजयी भएर आएपछि उनी बोर्डका अध्यक्ष पनि भएका छन् । बोर्डको अध्यक्ष भएपछि जसरी भए पनि खानेपानी संस्थानलाई बोर्डमा मर्ज गराउनुपर्ने भए तर उनलाई पार्टीले भने मर्ज नगराउन नै दबाब दिइरहेको छ । उनले संस्थानलाई बोर्ड ल्याउन झण्डै एक वर्ष लगाएको कारण पनि यसपटक बोर्डलाई ठूलो समस्या पर्न गएको बताइन्छ । यो समस्या कहिलेसम्मका लागि हो भनी आयोजनाका निर्देशक राजु पोखरेलसँग सोध्दा उनले अझै समय लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्