Logo
Logo

आज जनआन्दोलन दिवस, प्रजातान्त्रिक आन्दोलनलाई सम्झिदैं


दृष्टि संवाददाता


काठमाडौं । आज जनआन्दोलन दिवस, ३० वर्षीय निरंकुश पञ्चायती व्यवस्था हटाउन सुरु गरिएको जनआन्दोलन दिवसका रुपमा चैत २४ गतेलाई मान्ने गरिन्छ । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा २०४६ साल चैत २४ गतेबाट जनआन्दोलन सुरु भएको थियो ।

विक्रम संवत् २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र खोस्दै निरंकुश पञ्चायती व्यवस्था सुरु गरेका थिए । त्यसको ३० वर्षमा तत्कालीन राजा वीरेन्द्रले प्रजातन्त्र पुनर्बहाली गरेका थिए । २०४६ साल चैत २४ को आन्दोलनले राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता पनि दिएको थियो ।

मरिचमान सिंह नेतृत्वको मन्त्रिमण्डलले २०४६ सालको जनआन्दोलनमा दमन गरेको थियो । तर आन्दोलन झन् चर्किंदै गएपछि तत्कालीन राजा वीरेन्द्रले सिंह नेतृत्वको सरकार विघटन गरेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।

यद्यपि चन्द नेतृत्व मन्त्रिमण्डल दुई दिनमात्रै टिक्यो । चैत २५ र २६ गते पनि देशभर आन्दोलन जारी रहेपछि राजा वीरेन्द्रमाथि राष्ट्रिय/अन्तर्राष्ट्रिय दबाब बढ्यो । त्यसपछि उनले आन्दोलनकारीलाई वार्तामा बोलाए ।

आन्दोलनकारीका तर्फबाट कांग्रेस नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तथा वाममोर्चाका तर्फबाट सहाना प्रधान र राधाकृष्ण मैनालीको प्रतिनिधिमण्डलले वार्ता गरेको थियो । यही वार्ताबाट संविधानबाट दलविहीनको व्यवस्था हटाइएको थियो ।

त्यसैले चैत २४ गतेलाई राजनीतिक परिवर्तनका लागि एक महत्वपूर्ण तथा ऐतिहासिक दिन मानिन्छ । यद्यपि यस जनआन्दोलनको स्मरण अहिले राजनीतिक दलहरूले गर्न छाडेका छन् ।

जनआन्दोलनको भावना र मर्म बिर्संदै गएको आरोप खेप्ने राजनीतिक दलहरुले चैत २४ मा औपचारिक कार्यक्रम गर्नसमेत छाडेका छन् ।२०६२/६३ को जनआन्दोलनको सुरुवात पनि चैत २४ गते नै गरिएको थियो । यो आन्दोलनले राजसंस्थाको अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्