Logo
Logo

फेसन भनेको जीवनशैली हो-क्युटी शाक्य, विजेता, बेस्ट फेसन डिजाइनर


दृष्टि संवाददाता


उनी नेपालकै ‘बेस्ट फेसन डिजाइनर’ बन्न चाहन्छिन् । जब ९७ जना डिजाइनरहरुलाई पछि पार्दै ‘बेस्ट डिजाइनर’को उपाधि आफ्नो पोल्टामा पारिन्, तब काठमाडौं बौद्धकी क्युटी शाक्य झनै उत्साहित भइन् । ‘मेरो लक्ष्य एक उत्कृष्ट फेसन डिजाइनर बन्ने हो’ आईआईएफटीले आयोजना गरेको डिजाइनरहरुको प्रतिस्पर्धात्मक कार्यक्रम ‘ड्रेस टु इम्प्रेस सिजन–३ विजेता बनेपछि क्युटीले भनिन्, ‘डिजाइनर बन्ने मेरो सानैदेखिको रुचि र इच्छा थियो । बेस्ट डिजाइनर उपाधि पाएपछि झनै उत्साह मिलेको छ ।’ २३ वर्षीया क्युटी नामजस्तै सुन्दर र क्युटी छिन् । तर, उनी मोडलिङप्रति खाश रुचि राख्दिनन् । क्युटी फेसनलाई सरलरुपमा परिभाषित गर्छिन् । ‘लगाइ,, हिँडाइ र खुवाइ नै फेसन हो’ उनी भन्छिन्, ‘फेसन भनेको जीवनशैली हो, कसरी जिउने त्यो आफूमा भरपर्छ ।’ यिनै फेसन डिजाइनर क्युटी शाक्यसँग एमपी सुब्बाको जम्काभेट :

‘बेस्ट डिजाइनर’ उपाधि जित्नुभएको छ, कस्तो लागिरहेको छ ?

खुसी छु । बेस्ट डिजाइनर उपाधिले हौसला र प्रेरणा मिलेको छ । अब म बेस्ट डिजाइनर बन्नैपर्छ । यो मेरो रुचि र लक्ष्य पनि हो ।

तपाइँले कस्तो ड्रेस बनाउनुभएको थियो, जसबाट निर्णायकहरु इम्प्रेस भए ?

कम्पिटिशन पार्टीवेयर थिममा थियो । आइआइएफटीले हामीलाई एक महिनाअगाडि नै थिमबारे जानकारी गराएको थियो । त्यसैअनुसार म रिसर्चमा लागेँ । पाटी भन्नेवित्तिकै एउटै किसिम हुन्न । त्यसैले म ‘मस्क्युरेट माक्स’ माक्स पार्टीवेयर थिममा गएँ ।

ड्रेस तयार गर्न कति समय लाग्यो ?

एक महिनाको अवधिमा रिसर्च गर्नेदेखि ड्रेस तयार गर्नु अनि मोडलिङसम्बन्धी ज्ञान हासिल गर्नुथियो । किनकि, आफूले तयार पारेको ड्रेस आफैँ लगाएर क्याटवाक गर्नुपर्ने थियो । ‘मस्क्युरेट माक्स’ थिमको पहिरन बनाउनमात्र दुई हप्ता लाग्यो । ‘मस्क्युरेट माक्स’ माक्स पार्टीवेयर तयार गर्न ‘ब्ल्याक स्वान’ पनि प्रयोग गरेँ । जुन अष्ट्रेलियामा मात्र पाइन्छ । जसमा मैले माक्स पनि बनाएकी थिएँ ।

अष्ट्रेलियामा मात्र पाइने ‘ब्ल्याक स्वान’ कहाँबाट ल्याउनुभयो ?

यहाँ पाइँदैन । त्यसैले त्यसैको फेजर तयार पारेँ । डे«स टु इम्प्रेसका लागि निकै मिहिनेत गरेकी थिएँ । उपाधि पनि जितेँ, खुसी लागेको छ ।

मिहिनेतले गर्दा उपाधि जित्नुभएको हो ?

एक किसिमले हो । तर, इम्प्रेस ड्रेसबाट मात्र हुन्न । ड्रेसका साथै, क्वाटवाक, लुक्स र प्रस्तुतीबाट पनि इम्प्रेस गर्न सकिन्छ भन्ने मलाई लाग्थ्यो । त्यसैअनुसार मिहिनेत गरेँ ।

झण्डै सयका हाराहारी प्रतिस्पर्धी थिए । अरुका ड्रेस कस्तो लाग्यो ?

सबै प्रतियोगीको क्रियशन राम्रो थियो । आ–आफ्नै कला देखाएका थिए । थिम एउटै भएपनि फरक फरक क्रियशन गर्न पाउने स्वतन्त्रता आयोजक हामीलाई दिएका थियो । अर्को कुरा हामी सबै प्रतियोगी आईआईएफटीका (फेसन अफ स्कुल)का विद्यार्थी हौ । तर, क्रियशन आ–आफ्नै दिएका थियौँ ।

मोाडलिङतिर रुचि छ कि छैन ?

मलाई मोडलिङमा खाश रुचि छैन । तर, ड्रेस टु इम्प्रेसमा आफैँले तयार पारेको पहिरनमा स्टेजमा क्याटवाक गर्दा रमाइलो लाग्यो ।

तपाइँको बुझाइमा फेसन के हो ?

फेसन भनेको जीवनशैली हो । हामी जहाँ हिँडेछौँ, डुल्छौँ र खान्छौँ । त्यो नै फेसन हो । अब कस्तो जीवनशैली अपनाउने भन्ने आफूमा भरपर्छ ।

पछिल्लो पुस्ता फेसनप्रति जागरुक पाइन्छ । यो प्रभाव केबाट भयोजस्तो लाग्छ ?

मान्छेहरुले वेस्र्टन कल्चरले गर्दा भन्छन् । तर, मेरो बुझाइमा इन्टरनेट र सतमाजिक सञ्जालका कारण आम मानिसमा फेसनप्रतिको जागरुकता आएको हो । समाजिक सञ्जालको विकाससँगै हामी तुरुन्तै संसारका फेसन अर्थात जीवनशैलीलाई नियाल्ने मौका पाएका छौँ । यो हाम्रो पुस्ताका लागि खुसीको कुरा हो ।

तपाइँ फेसनप्रति कसरी प्रभावित हुनुभयो ?

फेसनबारे जब अलिअलि बुझ्ने भएँ, तब म फेसनप्रति आर्कर्षित हुन थालेकी हुँ । हुन त सबैलाई राम्रो लगाउन, मीठो खान मन पराउँछन् । त्यस्तै म पनि सानैदेखि फेसनेवल पहिरन मन पराउँथे । र, फेसन डिजाइनर नै बन्छु भनेर सोचेकी थिएँ । त्यही भएर फेसन डिजाइनरको कोर्ष सुरु गरेकी हुँ ।

तपाइँको लक्ष्य के हो ?

बेस्ट फेसन डिजाइनर बन्ने हो । मेरो अध्ययनको विषय पनि विजनेश नै हो । अब कोर्ष सकेपछि बुटिक खोल्ने सोच छ । उत्कृष्ट डिजाइनर बनेर फेसन पारखीहरुको फेसनप्रतिको तृष्णा मेटाउने मेरो इच्छा र रुचि छ ।

र, अन्त्यमा तपाइँलाई मनपर्ने पहिरन के हो ?

यही भन्ने छैन । आफूलाई जे लगाउँदा कम्फाटेवल हुन्छ । त्यही मनपर्छ । अर्को कुरा ठाउँ र परिवेशअनुसार फेसन गर्छु । मैले बढी प्रयोग गर्ने क्याजुअल पहिरन नै हो ।

प्रतिक्रिया दिनुहोस्