Logo
Logo

प्रधानमन्त्रीबाट टीका लगाउनेको धन्दा


दृष्टि संवाददाता


काठमाडौं । दुई साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका उद्योगी राजेश अग्रवाल तथा सुवास अग्रवालको ठगी धन्दा बाहिर आउन थालेको छ । उनीहरूले कमसल र कम तौलका निर्माण सामाग्री बिक्रि गरी सर्वसाधारणलाई करोडौं ठगी गर्दै आएको खुलेको छ ।

उनीहरुले सञ्चालन गरेको बालाजुस्थित राजेश हार्डवेयर प्रालिविरुद्ध हालै छानबिन सुरु भएको छ । तर, सामान्य कारबाही गरेर उन्मुक्ति दिन प्रधानमन्त्री ओलीका सल्लाहकार मोतिलाल दुगड सक्रिय भएका छन् । राजेश हार्डवेयरको बालाजु शाखाले बिलमा उल्लेख गरिएभन्दा कम तौलमा फलामे डण्डीलगायतका सामानहरू बिक्री गरेको खुलेपछि स्थानीयले गत साता बालाजु प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बुझाएको थियो । विभागले तौल गर्दा १० देखि १५ प्रतिशतसम्म कम देखिएको छ । हरेक सामानमा सो कम्पनीले त्यसैगरी ठगी गर्दै आएको विभागको प्रारम्भिक छानबिनमा खुलेको छ ।

विभागले राजेश हार्डवेयरलाई जम्मा ३ लाख रुपैयाँ जरिवाना तिराएको छ । कम्पनीका सञ्चालकहरुलाई दबाबका भरमा पक्राउ गरिएको छैन ।

गत ७ चैतमा राजेश अग्रवाल एमाले प्रवेश गरेका थिए । उनै अग्रवाल परिवारको ठगी धन्दा बाहिर आएको हो । राजेश हार्डवेयरले देशको सबैभन्दा ठूलो निर्माण सामाग्रीको व्यापार गर्दै आएको छ । जुन कम्पनीमाथि कर छलीको आरोपमा छानबिन समेत भइरहेको छ । यस्तै अवैध धन्दामा सक्रिय व्यापारीहरु छानबिनबाट जोगिन एमाले प्रवेश गरेका थिए । उनीहरुलाई जोगाउने जिम्मा विवादास्पद व्यापारी रहेका प्रधानमन्त्रीका सल्लाहकार दुगडले लिएका छन् । यसबाट कर छली तथा उपभोक्ता ठगी जस्ता धन्दा राज्यकै संरक्षणमा अघि बढ्ने जोखिम देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्