Logo
Logo

ईश्वरका कारण करोडौं घाटा


दृष्टि संवाददाता


काठमाडौं । रक्षा मन्त्रालयबाट हटाएर प्रधानमन्त्री कार्यालयमा थन्क्याइएका उपप्रधानमन्त्री ईश्वर पोखरेल एउटा पुरानो जिम्मेवारी भने कायमै छ । नेपाल ट्रष्टको अध्यक्षको जिम्मेवारीबाट भने उनलाई हटाइएको छैन ।

उनकै नेतृत्वका कारण ट्रष्टले केही काम गर्न सकेको छैन । कमलादीस्थित काठमाडौं प्लाजामा मात्र ट्रष्टले पाँच करोडभन्दा धेरै घाटा बेहोरिसकेको छ । २ असारमा नै कन्सेप्ट डेभलपर्ससँग ट्रष्टको सम्झौता सकिएकोमा भवन अझै खाली हुन सकेको छैन । ट्रष्टले त्यसयता एक रुपैयाँ पनि भाडा समेत पाउन सकेको छैन ।

त्यस्तै अवस्था छ ताहाचलको जग्गाको । जहाँ भवन बनाउन यती समूहको थामसेर्कुलाई लिजमा दिइएकोमा अहिलेसम्म काम सुरु भएको छैन । विगतमा भएको चलखेलकै कारण त्यहाँपनि ट्रष्टले भाडा पनि पाएको छैन । यती समूहले नै दरबारमार्गमा बनाएको दरबार मलमा सम्झौता भन्दा एक तला धेरै बनाएको खुलेपछि थप भाडा असुली अघि बढ्न सकेको छैन । लाजिम्पाटमा स्ट्यान्डर्ड चार्टड बैंक रहेको जग्गाको लिज अवधि पनि एक महिनापछि सकिदैछ । त्यहाँको जग्गाको भने उच्च मूल्याङकन गरिएकाले लिज लाग्ने सम्भावना देखिएको छैन । जसकारण ट्रष्टले मासिक करोडौं भाडा गुमाउने स्थिती आइरहेको छ ।

उपप्रधानमन्त्री पोखरेलले नै सही निर्णय गर्न नसक्दा ट्रष्टका सम्पत्तिको सदुपयोग हुन सकेको छैन । ट्रष्टलाई धनी बनाउने भन्दा पोखरेल केही व्यापारीलाई धनी बनाउने अभियानमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्