Logo
Logo
नाकामा अव्यवस्थित स्वास्थ्यजाँच

गौरीफन्टा नाका हुँदै नेपाल फर्कनेबाट गाउँ गाउँमा कोरोना फैलने खतरा

कोरोना पुष्टि भएकाहरु सार्वजनिक यातायातबाटै घर पुग्दै


हिक्मत बम


धनगढी । भारतका विभिन्न शहरमा पुनः कोरोना संक्रमण बढेपछि सीमानाकामा घर फर्कने नेपालीको घुँइचो लागेको छ । भारतबाट घर फर्कनेको संख्या बढेसंगै नेपालमा दोस्रो लहरको कोरोना संक्रमण फैलने खतरा पनि बढेको छ ।

कैलालीको सीमानाका गौरीफन्टामा भारतबाट नेपाल फर्कनेको घुँइचो देखिन्छ । पछिल्लो साता सीमानाकामा राखिएको हेल्थ डेस्कमा फर्कनको भीड बढेको छ । यो नाकाबाट दैनिक हजारभन्दा बढी संख्यामा नेपाल फर्कने गरेका छन् । फर्कनेहरु बालकदेखि बुढापाकासम्म छन् । चैतको प्रचण्ड गर्मीमा समेत उनीहरु लाइनमा बसेर स्थास्थ्यजाँच गराइरहेका छन् । तर, स्वास्थ्य जाँच व्यवस्थित र प्रभावकारी छैन ।

चेकजाँचका लागि लामो समय लाइनमा बस्नुपर्ने भएकाले धेरै नेपाली सीमानाका नजिकैको जंगल हुँदै चोरबाटो भएर घर जाने गरेका छन् ।
अछाम मंगलशैनका हर्कबहादुर चेकजाँचको लाइनमा भेटिए । भन्दै थिए– ‘भारतमा कोरोना संक्रमण बढेपछि घर फर्किएँ । गर्मीले होला असहज महसुस भइरहेको छ । बिहानदेखि लाइनमा छु । पानी समेत खान पाएको छैन । लाइनमा बस्दा बस्दै कोरोना सर्ला भन्ने डर छ ।’

नाका हुँदै नेपाल भित्रनेहरु सामाजिक दुरी त कायम गर्दैनन् नै मास्क समेत प्रयोग गरेको देखिँदैन । त्यसैले भारतबाट आएकाहरुलाई नाकामै संक्रमण हुनसक्ने खतरा देखिन्छ । उनीहरुबाटै गाउँ गाउँमा संक्रमण फैलने खतरा देखिन्छ ।

लाइनमा भेटिएका कञ्चनपुरका गणेश बिक यसपालीको नयाँ वर्ष परिवारसँगै बनाउन घर फर्केका हुन् । भारतमा फैलिएको कोरोनालाई वहाना बनाएर नेपाल आएका गणेशलाई यसपाली पनि परिवारसँग चार्ड पर्व मनाउन नपाइने हो कि भन्ने चिन्ता । भन्छन– ‘भारतबाट सकुसल आएकाहरु समेत यहाँको अव्यवस्थित चेकजाँचका कारण संक्रमित हुने खतरा छ ।’

सीमानाकामा सबैको स्वास्थ्य जाँच हुँदैन । हेल्थ डेस्कले शंका लागेका व्यक्तिको मात्र जाँच गरिरहेको छ । चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी अमित विक भन्छन्– ‘हामीले शंकास्पद व्यक्तिहरूमा मात्रै एन्टिजेन परीक्षण गरिरहेका छौँ । सबैको परीक्षण गर्न सम्भव नै छैन । हालसम्म पोजेटिभ देखिएकालाई पनि सम्झाइ बुझाई गरेर घर पठाउने गरेका थियाँै । तर, चार दिन यता मात्र केहीलाई आइसोलेसनमा पठाउने गरेका छौं ।’

तीन जनामा नयाँ प्रकृतिको संक्रमण
गौरीफन्टामा चैत ३ यता मात्रै परीक्षण सुरु गरीएको हो । त्यसयता २ हजार ७ सय १२ शंकास्पद व्यक्तिमा कोरोना परीक्षण गरीएको छ । जसम्ध्ये १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भयो । तीन जनामा भने नयाँ प्रकारको कोरोना देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ ।

एन्टिजेन परीक्षणमा सास्ती
नाकामा गरिने एन्टिजेन परीक्षणमा नागरिकले सास्ती भोग्नु परेको छ । परीक्षणका लागि दिनभर लाइनमा बस्नुपर्ने बाध्यता छ । स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा जोखिम बढ्दो छ । नत व्यवस्थित लाइन हुन्छ, न मास्क र सेनिटाइजर प्रयोगनै गरिन्छ ।

जिल्ला प्रशासन कार्यालयलाई समेत चेकजाँच व्यवस्थित नभएको थाहा छ । तर, वयवस्थापन गर्न खासो छैन । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल छिट्टै व्यवस्थापन गरिने बताउँछन् । तर, दैनिक सैयौं संख्यामा भित्रने नेपालीहरुबाट संक्रण फैलिए भयाभव हुने खतराको आकलन नै छैन ।

गाउँमा संक्रमण फैलिने खतरा
सीमानाकामा व्यवस्थित स्वास्थ्य जाँच नहुँदा गाउँ गाउँमा संक्रमण फैलने खतरा बढेको छ । नाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकाहरु पनि सार्वजनिक यातायाबाटै घर पुग्ने गरेका छन् ।

संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा राख्न वा सुरक्षित रूपमा होम आइसोलेसनसम्म पुर्याउँन सरकारले चाँसो दिएको छैन । धनगढीका पदम विष्ट भन्छन्– ‘आर्थिक अभावले छुट्टै गाडी रिजर्भ गर्न सकिँदैन । अर्को विकल्प नभएपछि सार्वजनिक यातायातमै नागरिक घर जाँदैछन् । अहिले गाउँ गाउँमा संक्रमण फैलने खतरा छ ।’

कोरोना पोजेटिभ देखिएकालाई के गर्ने भनेर स्वास्थ्यकर्मीलाई केहि भनिएको छैन । नियमक निकायले संक्रमितलाई के गर्ने ? भन्नेबारे केही नभनेकाले स्वास्थ्यकर्मीले घर नै पठाउने गरेको छन् । स्वास्थ्यकर्मी भन्छन– ‘पोजेटिभ देखिएकालाई सुरक्षित तरिकाले घर जानु, घरमा छुट्टै बस्नु भनेर सल्लाह दिएर पठाउने गरेका छौं ।’

भारतबाट फर्कनेमध्ये थोरैको मात्र नाकामा स्वास्थ्य जाँच हुनु, धेरैको परीक्षण नै नहुनु, परीक्षण भएर पोजेटिभ देखिएकाहरू पनि सार्वजनिक यातायातमै घर पुग्नुले गाउँ गाउँमा कोरोना फैलिने खतरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्