Logo
Logo

माओवादीद्वारा बागमती प्रदेशसभा बैठक अवरुद्ध


दृष्टि संवाददाता


मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बागमती प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । अविश्वासको प्रस्ताव विभिन्न बहानाबाजी गरेर सरकारले ल्याउन नदिएको लगायतका माग राख्दै माओवादी केन्द्रले मंगलबारको बैठक अवरुद्ध पारेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै माओवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेलले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विभिन्न बहानामा सरकारले छलफलमा ल्याउन नदिएको, पुस १० गते पश्चात सरकार परिवर्तन भएपछि सत्तापक्षले एकलौटी ढंगबाट नीति तथा कार्यक्रम र बजेट पठाउने गर्ने काम गरेको भन्दै आपत्ति जनाए ।

उनले सरकारले प्रदेशमा छलफल बिना नै विद्युतीय बस संचालनमा ल्याउन लागेको भन्दै त्यस विषयमा प्रदेश सभामा जवाफ दिनुपर्ने समेत माग राखे ।

उनले भने, ‘सभामुख संवैधानिक रुपमा स्वतन्त्र हुनुहुन्छ, तर उहाँलाई पनि सरकारले दबाबमा राख्यो । सो दबाबका कारण सभामुखले अविश्वासको प्रस्तावमाथि छलफल गर्ने वातावरण बनाउन सक्नु भएन ।’ ‘प्रदेशसभाको विभिन्न समिति र कार्य परामर्श समितिको बैठकमा पनि प्रमुख प्रतिपक्ष र अन्य दलहरुलाई सूचना नै नगरी एकलौटी ढंगबाट छलफल अगाडि बढाउनु भएका छ यो भन्दा दुःखद क्षण के हुनसक्छ,’ उनले भने ।

माओवादी केन्द्रका सांसदहरुको अवरोध पछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले भोलि चैत्र २५ गते दिउँसो ११ बजे बस्नेगरी बैठक स्थगित गरे ।

प्रतिक्रिया दिनुहोस्