Logo
Logo

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई सांसदको पद खोसियो


दृष्टि संवाददाता


बुटवल । माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् । प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीको पद खोसिएको हो ।

मङ्गलबार भएको प्रदेश सभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराए । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भएका न्यौपाने रूपन्देही क्षेत्र नम्बर १(ख) र पन्थी गुल्मी क्षेत्र नम्बर २(ख) बाट निर्वाचित भएका थिए ।

माओवादी केन्द्रले उनीहरूले दल त्याग गरेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो । सभामुख घर्तीले माओवादी केन्द्रको केन्द्रीय कार्यालयको जानकारी तथा प्रदेशसभा संसदीय दलको निर्णयको पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भएको जानकारी गराएका थिए ।

प्रदेश सभा नियमावलीको नियम १९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त हुने व्यवस्था छ । पत्रबारे जानकारी गराउँदै सभामुख घर्तीले न्यौपाने र पन्थीको प्रदेश सभा सदस्य रिक्त भएको बताए ।

लुम्बिनी प्रदेशको कुल ८७ सांसदमध्ये सभामुखसहित माओवादी केन्द्रका २० सांसद छन् । दुई जना पदमुक्त भएपछि अब माओवादी केन्द्रसँग १८ सांसद कायम रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्