डढेलोको जोखिम बढ्यो, दश वर्षकै उच्च « Drishti News – Nepalese News Portal
Logo

डढेलोको जोखिम बढ्यो, दश वर्षकै उच्च


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्ला केही सातादेखि प्रदुषण तीव्र बनेको छ । अधिकांश वन क्षेत्रमा डढेलो फैलिएको छ । यो पटक नेपालमा देखिएको डढेलोको प्रकोप विगत १० वर्षयताकै उच्च रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस वर्ष एकै दिन झन्डै आठ सयवटा डढेलो लागेको रेकर्ड छ । जसअनुसार सोमबार मात्र ७९८ स्थानमा डढेलो लागेको थियो । विक्रम संवत् २०६६ सालमा उच्च प्रकोपका रूपमा नेपालमा यसअघि डढेलो देखिएको थियो ।

त्यसपछि केही समय मत्थर बनेको थियो । देशव्यापी डढेलोमा परेर ४९ जनाले ज्यान गुमाए । २०७० सालयता फेरि नेपालमा डढेलो बढ्न थालेको हो । विज्ञ शर्माका अनुसार त्यसअघि ३७९ वटा डढेलोका घटनामा ४० जिल्ला प्रभावित बनेका थिए । २०७१ र २०७२ सालमा घटेर क्रमशः २६९ र १०७ वटा डढेलोका घटना भएका थिए ।

वि.सं. २०७३ सालमा ह्वात्तै बढेर ९८९ वटा डढेलो लागेको थियो । जसमा ६७ जिल्ला प्रभावित बनेका थिए । २०७४ सालमा ६४ जिल्ला प्रभावित हुने गरी ६१७ डढेलोका घटना भएका थिए । २०७५ सालमा ८१९ वटा डढेलोका घटनाले ६३ जिल्ला प्रभावित बन्न पुगेका थिए । २०७६ सालमा १८८ डढेलोका घटनामा ४० जिल्ला प्रभावित बनेका थिए ।

यस वर्ष वैशाखयता हालसम्म दुई हजार ७१३ वटा डढेलोका घटना रेकर्ड भएका छन् । जसमा ७३ जिल्ला प्रभावित बनेको प्राधिकरणले जनाएको छ । दस वर्षको अवधिमा सात हजारभन्दा बढी डढेलोका घटना भएका थिए ।

यस वर्ष डढेलो निभाउन गएका चार जनाको ज्यान गइसकेको छ । सात जना उपचाररत छन् । मङ्गलबार भने नेपालमा डढेलो लागेको स्थान केही कम भएको छ । वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएअनुसार देशका ५८४ स्थानमा डढेलो लागेको छ । डढेलोको धुवाँ फैलिँदा नेपालमा वायु प्रदूषण उच्च बनेको छ ।

डढेलोले फैलिन थालेपछि सरकारले फायर फाइटिङ हेलिकप्टर नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको छ । डढेलोले दुःख गरेर संरक्षण गरिएको वन क्षेत्र विनाश गर्नुका साथै जनताको ज्यानसमेत लिन थालेकाले फायर फाइटिङ हेलिकप्टर भित्र्याउने प्रक्रिया अगाडि बढाइएको हो । फायर फाइटर हेलिकप्टरले डढेलो लागेको स्थानमै पुगेर आकाशमार्ग हुँदै आगो निभाउँछ ।

नेपाली सेनालाई जिम्मा दिने गरी हेलिकप्टर खरिद गर्ने प्रक्रिया अगाडि बढेको वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जानकारी दिए । नेपालले एन फायर फाइटिङ हेलिकप्टर ल्याउन लागेको बताउँदै उनले भने, “हरेक वर्ष डढेलोले वन विनाश बढाएको हुँदा सरकारले आफैँ हेलिकप्टर किनेर नियन्त्रणको बाटोमा अग्रसर भएको हो ।”

मन्त्री आलेका अनुसार एउटा फायर हेलिकप्टर खरिद गर्नका लागि वन मन्त्रालयले दुई अर्ब रुपियाँ बजेट सरकारसँग माग गरिसकेको छ । कुन देशबाट ल्याउँदा सहज र राम्रो आउँछ त्यस बारेमा बुझ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग परामर्श भइरहेको उनले बताए । आजको गोरखापत्र दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्