Logo
Logo

विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण सम्झौता हुँदै


दृष्टि संवाददाता


काठमाडौं । विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण सम्झौता आज (बुधबार) हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले टेण्डर प्रक्रियाबाट छनौट गरेको चीनको जियाङसु वाङदाङ न्यू इनर्जी टेक्नोलोजी कम्पनीसँग सम्झौता हुनलागेको हो ।

सम्झौता भएसँगै निर्माण परियोजनाको काम सुरु हुने चार्जिङ स्टेसन निर्माण परियोजनाका प्रमुख सागर ज्ञवालीले जानकारी दिएका छन् । सम्झौताको एक वर्षमा काम सम्पन्न गर्ने उल्लेख छ । ३८ करोड रुपैयाँ लागतमा ५० वटा स्टेसन निर्माण हुनेछन् ।

देशभर ५० वटा स्टेसन निर्माणका लागि १३ वटा कम्पनीले परियोजना प्रस्ताव दिएका थिए । स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन देशका विभिन्न स्थानमा रहनेछन् ।

५० स्टेसनमध्ये सातवटा प्रदेशमा पाँच/पाँचवटा, काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा आवश्यकता भएका स्थानमा राखिने भएको छ । प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार किलोवाट विद्युत् खपत हुनेछ ।

एकै पटक तीनवटा सवारी साधन चार्ज गर्न मिल्ने गरी स्टेसन निर्माण हुनेछन् । ५० वटा स्टेसनलाई विद्युत् आपूर्तिको अवस्था हेरी सञ्चालन गरिँदै जाने प्राधिकरणको योजना छ ।

मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्न सकिनेछ । प्राधिकरणका अनुसार सवारी साधन चार्ज गर्ने अवस्थामा पुगेपछि पालो कुरेर बस्नु पर्दैन । सवारी साधनले सुविधाअनुसार पहिल्यै मोबाइल एप्सबाट समय बुक गर्ने व्यवस्था मिलाइने भएको छ ।

चार्जिङ स्टेसनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्नेछ । कति मिनेटसम्म वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाटै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्