Logo
Logo
सुदूरपश्चिम प्रदेश

सरकार हेरफेरको कसरत, गतिविधि बढाउँदै भीम रावल


दृष्टि संवाददाता


धनगढी । नेकपा एमाले सुदूरपश्चिमका प्रभावशाली नेताहरू अहिले प्रदेश केन्द्रित भएका छन् । डा. भीम रावल यतिबेला सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा छन् ।

एमाले पूर्ववत् अवस्थामा फर्किएपछि उनी अहिले तत्कालीन कमिटीलाई चलायमान बनाउन र प्रदेश सरकार हेरफेर गर्न खोजिरारहेका छन् । नेपाल सरकारका उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्री तथा नेकपा एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट पनि सरकार परिवर्तनका लागि सक्रियरुपमा लागेका छन् ।

रावलले विस्तार गरे समानान्तर समिति

नेकपा एमाले माधव समूहका नेता डा. भीम रावलले सुदूरपश्चिममा समानान्तर समिति बनाएक छन् । बैठकबाट प्रदेश, जिल्ला, स्थानीय तह र भातृ संगठनमा रिक्त रहेका पदमा जिम्मेवारी तोकिएको एक नेताले जानकारी दिएका छन ।

स्रोतकाअनुसार कैलाली जिल्लाको अध्यक्षको जिम्मेवारीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारालामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावलले जिम्मेवारी पाएका छन् भने दार्चुलामा तोक्न बाँकी छ ।

नेपाल पक्षको एमालेका प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव दिनेश सुवेदीले बैठकले प्रदेशका सबै जिल्ला कमिटीहरुलाई पूर्णता दिएको जानकारी दिए । छलफल चलिरहेको छ,’ सुवेदीले भने, ‘कमिटीको विस्तारित स्वरूपबारे केही दिनमै पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौँ ।’

‘सरकार हेरफेरको तयारी’

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरे पनि एमाले नेता रावलले सुदूरपश्चिममा पार्टीका गतिविधि बढाउन थालेका छन् । उनले समानान्तर समितिमात्रै गठन गरेका छैनन्, प्रदेश सरकार हेरफेरको तयारीमा पनि गरेका छन् ।

स्रोतकाअनुसार रावलले एमाले संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र वन तथा वातावरण मन्त्री माया भट्टलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।

रावललाई एमाले ब्युँतिएपछि पार्टी विरोधी गतिविधि गरेको भन्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेका छन् । रावल तत्कालीन एमाले हुँदा र पछि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी हुँदा पनि सुदूरपश्चिम इन्चार्ज थिए । पछिल्लो समय अध्यक्ष ओलीले रावललाई हटाएर माओवादीबाट आएका लेखराज भट्टलाई प्रदेश इन्चार्ज तोकेका छन् ।

सरकार परिवर्तन गर्ने दौडमा ओली समूह

सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन गरी आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने विषयमा छलफल गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले गत सोमबार दिउँसो १ बजे प्रदेश संसदीय दललाई बैठक आह्वान गर्न निर्देशन दिएका थिए ।

प्रदेश समितिको निर्देशनअनुसार प्रदेश संसदीय दलले उक्त समयमा बैठक आह्वान ग¥यो । तर, बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसद् उपस्थित भएनन् । त्यसपछि संसदीय दलले बैठक स्थगित हुनपुग्यो ।

ओली समूहका एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले होली पर्वका कारण सांसद्ले बैठकमा आउन नसक्ने जनाएको दाबी गर्नुभयो । तर, नेपाल-खनाल समूहका सांसद्ले भने बैठक बहिस्कार गरेको बताए । यो घटनाले नेकपामा किचलो रहेको स्पष्ट देखाउँछ ।
ओली र खनाल-माधव समूहबीच केन्द्रमा रहेको किचलो प्रदेशमा पनि देखिन्छ । पार्टीभित्रको किचलोबीच ओली समूह सुदूरपश्चिम प्रदेश सरकार ढालेर आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने कसरतमा लागेको बताइन्छ ।

यसका लागि सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण थापालगायतका नेता सक्रिय भएका छन् । आपूर्तिमन्त्री भट्ट पनि यसका लागि धनगढी पुगेका छन् ।

प्रदेश सरकार भ्रष्ट भएका कारण सरकार परिवर्तन गर्न आवश्यक रहेकोे बताउँछन् प्रदेश अध्यक्ष थापा । ‘सरकार परिवर्तनबारे अहिले पार्टीका सांसदसँग छलफल चलिरहेकाले निष्कर्षमा पुगिसकेका छैनौं’ उनले भने, ‘हामी जसरी पनि सरकार ढालेर आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउँछौं ।’

प्रदेशसभाका एक सांसदले सरकार परिवर्तनबारे अन्तिम कसरत भइरहेको दाबी गरेका छन । ‘एमालेको एकल सरकार बन्ने अवस्था छैन ।
सरकार बनाउन हामीलाई थप दुई सांसद आवश्यक पर्छ । यसका लागि जनता समाजवादी पार्टी (जसपा) र नेपाली कांग्रेससँग छलफल भइरहेको छ । अबको केही दिनमा नतिजा देखिन्छ,’ तीं सांसद्ले भने । तर, खनाल-नेपाल समूहका सांसद तत्काल सरकार परिवर्तनको सम्भावना नरहेको बताउँछन् ।

खनाल-नेपाल समूहका प्रदेश संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले पार्टीको नेतृत्वमा सरकार बनाउने विषयमा आफुलाई कुनैपनि जानकारी नभएको बताए ।

‘दलको नेता मै हुँ, प्रमुख सचेतक तारा लामा तामाङ हुनुहुन्छ । हामीले हो बैठक बोलाउने’ उनले भने, ‘तर, अहिलेसम्म त्यो विषयमा छलफल भएको छैन ।’
खनाल-नेपाल समूहकै प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले पनि सरकार परिवर्तनबारे आफूलाई जानकारी नभएको बताउनु भयो । ‘तत्काल सरकार परिवर्तन हुने देखिँदैन,’ उनले भने । प्रमुख सचेतक लामाले केन्द्रमा आफ्नो समूहले अख्तियार गर्ने रणनीतिअनुसार प्रदेशमा रणनीति बनाउने बताए ।

प्रदेशसभामा ओली समूह कमजोर
सुदूरपश्चिम प्रदेश सभामा ओली समूह कमजोर देखिएको छ । प्रदेश सभाको ५३ सिटमध्ये एमालेका २५ सांसद् छन्, जसमा ओली समूहका ६ र खनाल-नेपाल समूहका १९ रहेका सांसद् छन् । त्यसमा पनि प्रदेश संसदीय दलको नेता र प्रमुख सचेतक पनि नेपाल समूहमै छन् ।
यो अवस्थामा ओली समूह संसदीय दलबाट सरकारलाई दिएको समर्थन फिर्ता गराउने निर्णय पास गर्न सक्दैन । त्यसैले ओली समूह प्रदेशको निर्देशन पालना नगर्नेलाई कारवाहीको धम्की दिइरहेको बताइन्छ ।

प्रदेश अध्यक्ष थापाले सरकार ढाल्न पार्टीका सांसदले असहयोग गरे कारवाही गर्ने चेतावनी दिनुभएको छ । ‘पार्टीको नीति नेतृत्व र निर्णय स्वीकार नगर्नेमाथि विधान बमोजिमको कारवाही प्रक्रिया अघि बढाइन्छ’, सुदूरपश्चिम प्रदेश अध्यक्ष थापाले भने ।

दलसँग छलफल गर्न कार्यदल
एमाले प्रदेश समितिले सरकार परिवर्तनबारे राजनीतिक दलसँग छलफल गर्न कार्यदल गठन गरेको छ । कार्यदलको संयोजक पार्टीको सुदूरपश्चिम प्रदेश सह-इन्चार्ज महेश्वर पाठक, सदस्यहरूमा कैलाली जिल्ला अध्यक्ष रतन थापा र एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री झपट बोहरा रहेको प्रदेश अध्यक्ष थापाले जानकारी दिए । सरकार परिवर्तनका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग खुला छलफल र बहस गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्