Logo
Logo

प्रतिपक्षले अवरोध गरेपछि बागमती प्रदेशसभा बैठक स्थगित


दृष्टि संवाददाता


हेटौंडा । प्रतिपक्षी दलले अवरुद्ध गरेपछि बागमती प्रदेशसभाको बैठक स्थगित गरिएको छ । प्रतिपक्ष दलका नेताहरुले प्रदेश सरकारको विद्युतीय बस संचालन योजनाप्रति असन्तुष्टि व्यक्त गर्दै विरोध जनाएपछि अवरुद्ध बनेको हो ।
बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै प्रदेशका प्रतिपक्ष दलका ४ जना नेताहरुले प्रदेश सरकारको विद्युतीय बस संचालनको योजना प्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

फाइल फोटो

बैठकमा सुरु हुनेवित्तिकै प्रदेशको दोस्रो प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्र बहादुर बानियाँले सरकारले अहिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै मन्त्रिपरिषदले आवश्यकीय कार्यविधि र मापदण्ड तयार नगरी विद्युतीय बस संचालनको काम अघि बढाउँदा भ्रष्टाचार गर्ने उद्देश्य रहेको आरोप लगाए ।

नेता बानियाँले सरकारले आफैँ निर्माण कम्पनी स्थापना गरी संचालन गर्न भनि विधेयक ल्याउन खोजिएकोमा आपत्ति प्रकट गर्दै जनताकै सहभागितामा निजी कम्पनीहरु संचालन हुनु स्वाभाविक भएको र सरकारले नै कम्पनी स्थापना गर्नु नाजायज र भ्रष्टाचारलाई प्रोत्साहित गर्न खोजिएको आरोप लगाए ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र गोरसाई, साझा विवेकशील दलका रमेश पौड्याल र राप्रपाकी रिता माझीले सरकारले संचालनमा ल्याउन खोजेको विद्युतीय बस खरिदलाई तत्काल स्थगित राखी आवश्यक मापदण्डका विषयमा छलफल गर्नुपर्ने माग गरेका छन् ।

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलले थप प्रश्नको स्पष्ट जवाफ माग गर्दै जवाफ नआउन्जेलसम्म बैठक चल्न नदिने भनी बैठक अवरुद्ध गरेका थिए ।

माओवादी केन्द्रको अवरोधपछि सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरेको सूचना दिए । प्रदेशसभा बैठकमा छलफलका लागि तयार गरिएको कार्यसूची माओवादी केन्द्रको अवरोधका कारण संसदमा पेश नभइ हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्