Logo
Logo

नेता अधिकारी ‘प्रविधिकरुपमा मात्रै जीवित’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ फागुन । धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थितबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताले शनिबार जानकारी लिएका छन् ।
नेता अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको खबर सार्वजनिक भएपछि उनीहरुले अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको नेकपाका केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । उनले भने, ‘अधिकारीको क्लिनिकलरुपमा मृत्यु भइसकेको छ, प्रविधिकरुपमा मात्र उहा“ जीवित हुनुहुन्छ, उहा“को सबै परिवारका सदस्य राजधानी आएपछि चिकित्सकले औपचारिक रुपमा मृत घोषणा गर्नेछन् ।’
शनिबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम, कानून, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रम रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले अधिकारीको स्वास्थ्यस्थितिबारे चिकित्सकसँग जानकारी लिएका हुन् ।
मुटु र फोक्सोमा समस्या भएपछि उपचाररत उनलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्तका अनुसार उहाँको रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपरेको छ भने शरीरका महत्वपूर्ण अंगले काम गर्न छाडेका छन् । बितेका २४ घण्टादेखि पिसाब बन्द भएको छ ।
गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनःभर्ना गरिएको थियो । अधिकारीका स्वकीय सचिव महेश विष्टका अनुसार ह्याम्स अस्पतालमा उहाँको उपचारमा डा भगवान् कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतका संलग्न छन् । रासस

प्रतिक्रिया दिनुहोस्