Logo
Logo

प्रदेश-२ : माओवादी केन्द्रको संसदीय दलको नेतामा साह


दृष्टि संवाददाता


धनुषा । प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो ।
यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका छन् ।

तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादीको दलको नेतामा रामचन्द्र मण्डललाई चयन गरिएको थियो । तर, पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मण्डल प्रधानमन्त्री ओलीको खेमामा लागेका अहिले भरत साहलाई दलका नेताका रुपमा चयन गरिएको प्रमुख सचेतकमा चुनिएका दिलीप साहले जानकारी दिए ।

ओली समूहमा लागेका मण्डलसहित चार सांसदलाई २४ घण्टे स्पष्टीकरण साधिएको छ । मण्डलसहित कुन्दन साह, ज्वाला साह र मो. समीर अन्सारी ओली खेमामा लागेका छन् । उनीहरु चार जनालाई स्पष्टीकरण सोधिएसँगै कारबाही प्रक्रिया अगाडि बढाइने छ । प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारीसमेत पार्टीले गरेको सचेतक साहले जनाए ।
प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । प्रदेशको पाँचौँ अधिवेशनको पहिलो बैठक सोमबार दिनको १ बजे आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्