Logo
Logo

ओलीलाई नाफा, प्रचण्डलाई ‘डबल’ घाटा


प्रदीपराज दाहाल


काठमाडौं । सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतियो । एक भएर अलग–अलग हुँदा समग्रमा कम्युनिष्ट आन्दोलनलाई घाटा भयो भनिए पनि तत्कालका लागि दुई मध्ये एक पार्टीलाई नाफा भएको छ ।

नेकपा खारेज हुँदा एमालेको ठूलो हिस्सा माओवादीसँग जाने अनुमान गरिएको भएपनि त्यसो भएन । बरु धेरैले माओवादी छोडेर एमाले रोजे । यस अर्थमा नेकपा विभाजनको फाइदा नेकपा एमालेको केपी शर्मा ओली समूहलाई मिलेको छ ।

नेकपा खारेजीपछि माओवादी केन्द्रका १६ जना सांसद एमाले प्रवेश गरेका छन् । जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेका देखि संसदीय राजनीतिमा स्थापित नेताले प्रचण्डको साथ छोडेर ओलीलाई साथ दिन पुगे ।

संघीय संसदमा ६ सांसद गुमाएको माओवादीले प्रदेशमा सभामा १० सांसद गुमाएको छ । यी सबै एमाले भएका छन् । त्यति मात्र होइन, राष्ट्रियसभाका दुई सदस्य समेत ओलीकै पछि लागेका छन् । जनयुद्धका सैन्य कमाण्डर रामबहादुर थापा (बादल) र नेता चन्द्रबहादुर खड्का एमाले प्रवेश गरिसकेका छन् ।

प्रतिनिधिसभामा माओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने चार सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पनि एमालेमै छन् ।

माओवादीले प्रदेश २ मा सबैभन्दा धेरै सांसद गुमाएको छ । त्यहाँ तीन जना प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य र एकजना समानुपातिक सांसद गुमाएको छ ।

प्रदेश २ बाट निर्वाचित माओवादीका सांसदहरू रामचन्द्र मण्डल धनुषा–१ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बारा–३ को (क)बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट–३ को (ख)बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह पनि एमाले भएका छन् । बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समीर पनि एमाले प्रवेश गरे ।

लुम्बिनीका दुई सांसद गुमाएको माओवादीले कर्णालीबाट दुई र प्रदेश १ वाट एक सांसद गुमाएको छ । एमाले प्रवेश गरेसँगै उनीहरू सबैलाई माओवादीले कारवाही गरिसकेको छ ।

लुम्बिनीका प्रदेशसभा सदस्यमध्ये रूपन्देहीबाट निर्वाचित प्रदेश सभाको अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधीराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थी एमाले प्रवेश गरेका कारण कारवाहीमा परेका छन् । गण्डकी र बागमती प्रदेशबाट मात्र माओवादीले आफ्ना सांसद जोगाएको छ ।

माओवादी छोड्ने सांसद

प्रतिनिधि सभा–
टोपबहादुर रायमाझी
लेखराज भट्ट
प्रभु साह
गौरीशंकर चौधरी

राष्ट्रिय सभा–
राम बहादुर थापा बादल
चन्द्रबहादुर खड्का

प्रदेश सभा– प्रदेश १
टंक आङबुहाङ

प्रदेश सभा– प्रदेश २
रामचन्द्र मण्डल
ज्वालाकुमारी साह
कुन्दनप्रसाद कुशवाह
मोहम्मद समीर

प्रदेश सभा– लुम्बिनी
दधीराम न्यौपाने
दिनेश पन्थी

प्रदेश सभा– कर्णाली 
ठम्मर विष्ट
धर्मराज रेग्मी

प्रदेश सभा– सुदुरपश्चिम 
झपट बोहरा

राजनीतिक दल सम्बन्धि व्यवस्थाका कारण दल त्याग गरेपछि सांसद पद खारेज हुने भएकाले संसदीय गणितमा एमालेलाई फाइदा नभए पनि माओवादीलाई दोहोरो घाटा भएको छ । एक त स्थापित नेता गुमाउनु परेको छ भने अर्कोतर्फ संसदीय गणितमा तात्कालिक रूपमा घाटा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्