Logo
Logo

धारामा पानी नआए मेयरको घर घेराउ गर्ने चेतावनी


दृष्टि संवाददाता


धरान । एकीकृत शहरी विकास परियोजनाले धरानमा २ अर्ब खर्च गरेर पानीको योजना सम्पन्न गरेपनि नगरबासीको धारामा पानी दिन नसक्दा नगरवासीहरु रुष्ट भएका छन् । उनीहरुले शुक्रबारदेखि खानेपानी कार्यालयको विल काउन्टरमै ताला लगाइदिएका छन् ।

यसअघि नेपाल खानेपानी संस्थानले वितरण गर्दै गरेको खानेपानीलाई गत फागुन २२ गतेदेखि धरान खानेपानी व्यवस्थापन वोर्डले आफ्नो हातमा लिएको छ । तर, दुई दिनमा एक घण्टा पनि राम्रोसँग पानी दिन सकेको छैन । त्यसको विरोधमा नगरवासीले दैनिक रितो गाग्री जुलुसले धरान उपमहानगर पालिकाअगाडि धर्ना निकाल्ने गरेका छन् ।

यसै विषयलाई लिएर आइतबार धरान खानेपानी वोर्डले पत्रकार सम्मेलन गरी पानीको वितरण प्रणालीमा समस्या आएको बताएको छ । समस्या हुँदा पानी वितरणमा अनियमितता भएपनि एक दुई दिनपछि सहज हुने वोर्डका अध्यक्ष तथा नगर प्रमुख तिलक राईले बताए । तर, दिन ३ करोड पानीको आवश्यकता पर्ने धरानमा हाल सर्दु जलाधार क्षेत्रमा पानी सुकेको र खानेपानी संस्थानले चलाएको पुराना वोरीडहरु विग्रिएकाले समस्या आएको प्राविधकको भनाइ छ ।

संस्थानको पुरानो वोरिङ सिस्टम मर्मत सम्भार नगरे अझै एक वर्ष पानीको अभाव रहने देखिन्छ । आन्दोलनमा उत्रिएका नगरवासीले भने वैशाक १ गतेसम्ममा पनि पानी वितरण गर्न नसके मेयरको घर घेराउ गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्