Logo
Logo

२०७७ साल सार्थक रह्योः प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विक्रम संवत् २०७७ लाई निरर्थक भन्न नमिल्ने बताएका छन् । नयाँ वर्ष २०७८ सालको शुभकामना दिंदै उनले मेलम्ची खानेपानीलगायत समृद्धिका आकांक्षा पूरा गर्न २०७७ साल निरर्थक नरहेको बताए ।

गएको वर्ष असफलताको वर्ष मान्न नहुने जिकिर पनि गरे । प्रधानमन्त्री ओलीले मेलम्ची सपना साकार पार्न, कोभिडको नियन्त्रणलगायत काममा सफलता हात पार्न सफल भएकाले गतवर्ष सन्तोषप्रद रहेको बताए । उनले कोभिडको दोस्रो लहर सङ्क्रामक ढङ्गले अघि बढेकाले सरकारले नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले स्कुल, कलेजलगायत केही दिन बन्द भए पनि फरक नपर्ने तर जीवनरक्षालाई बेवास्ता गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘हामीले कोभिड १९ को प्रतिकुल अवस्थामा पनि हामीले धेरै महत्वपूर्ण उपलब्धी हासिल गरेका छौं ।

यसलाई असफल होइन, सफल वर्ष नै मान्नुपर्छ ।’ उनले हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काइएको, मेलम्चीलाई काठमाडौंवासीका धारामा पुर्‍याइएको लगायत कुराहरुलाई सरकारको सफलताको रुपमा चर्चा गरे ।

‘२०७७ सालको पीडा यस वर्ष दोहोरिन नपाओस । तीव्र संक्रमण र जनधनको क्षति हुन नपाओस, अर्थतन्त्रलाई प्रतिकुल असर पार्न नपाओस भनेर हामी सजग हुनुपर्छ । त्यसैले सरकारले जारी गरेका मापदण्डहरुका पालना गर्न म सबैमा आग्रह गर्छु,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्