Logo
Logo

वरिष्ठ मन्त्री भेष बदलेर रातिराति बेपत्ता !


दृष्टि संवाददाता


काठमाडौं । सरकारका एकजना वरिष्ठ मन्त्री राति–राति बेपत्ता हुनुले राष्ट्रिय राजनीतिमा भित्रभित्रै केही नयाँ कुरा पाक्न लागेको हो कि भन्ने छनक मिलेको छ ।

सरकार र पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहने, उस्तै परे सबैसँग समन्वय गरेर जान सक्ने, परेको खण्डमा सबैसँग छुच्चो बोलेर मान्छे बिच्काउन पनि पछि नपर्ने एकजना मन्त्री जो प्रधानमन्त्री केपी शर्मा ओलीसँग अत्यन्त निकट मानिनुहुन्छ, उहाँ रातको अँध्यारोमा, भूमिगत शैलीमा सुटुक्क निस्कनुपर्ने, कहाँ, के काममा गएको, कति बेला आएको भन्ने पत्तो नहुने अवस्था छ १ यसरी वरिष्ठ मन्त्रीलाई गोप्य तवरले कार्यसम्पादन गर्नुपर्ने के त्यस्तो खण्ड–खातिर आइपुग्यो ?

अहिले मुलुकको राजनीतिक सरगर्मी बढिरहेको बेला, विपक्षी गठबन्धनका कारण सरकारमाथि नै एकखालको संकट उत्पन्न भएको, पार्टी विभाजन पनि हुन–हुन लागेको, तर भइनसकेको प्राविधिक कठिनाइकै बीच वरिष्ठ मन्त्री घरबाट बेपत्ता हुन थाल्नुभएको छ ।

ती मन्त्री अघिल्लो सोमबार राति आठ बजे सरकारी झण्डावाल गाडीमा भैँसेपाटी निवास फर्किनु भयो । २५ मीनेटपछि रातो रंगको र्‍याभफोर गाडी आँगनमा घरको मूल ढोकासँगै सट्ने गरी रोकियो । कालो टोपी र लामो कालै ओभरकोट लगाएर निस्किनुभयो ।

सेना–प्रहरीबिना नै उहाँ निजी नम्बर प्लेटको त्यो गाडीको पछिल्लो सिटमा दायाँबायाँ हेरेर ढुक्क भएपछि एक्लै चढ्नुभयो । मन्त्री निस्कनुअघि रोड क्लियर, सुरक्षा खतरा व्यवस्थापनका कामहरु अनिवार्य रुपमा गर्नुपर्ने प्रचलन छ ।

तर, यी सबै औपचारिकता पूरा नगरी, सुरक्षाकर्मीलाई पनि छलेर मन्त्री अज्ञात गन्तव्यतर्फ लाग्नुभयो । मध्यराति कतिबेला फर्किनुभयो भन्ने कुराको पनि ठेगान भएन । यो के मिशन थियो ? प्रधानमन्त्रीकै जानकारीमा हो कि ? भेष बदलेर हिँड्नुपर्ने त्यस्तो के बाध्यतामा उहाँ पर्नुभयो ? यसरी मध्यरात बेपत्ता हुने गर्नुभएका मन्त्री हुनुहुन्छ, विष्णु पौडेल ।

हो, उहाँले नै ०७४ को निर्वाचनअघि केपी ओली र प्रचण्डबीच मिलनकर्ताको भूमिका खेल्नुभएको थियो । चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्मका सूत्रधार हो उहाँ । प्रधानमन्त्रीको दूरी ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसँग बढ्दा माधव नेपालहरुसँग कुरा गर्ने पनि उहाँ हुनुहुन्थ्यो । अहिले उहाँको यो हिँडाई कुन गन्तव्यका लागि हो ? प्रष्ट छैन ।

साभारः जनआस्था साप्ताहिक

प्रतिक्रिया दिनुहोस्