Logo
Logo

आज महाशिवरात्रि : पशिुपतिमा भक्तजनको भीड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० फागुन । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् ।


शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।


राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।
भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । यस वर्ष प्रयागराजमा भएको कुम्भ मेलाका दर्शनार्थीमध्ये केही पशुपतिनाथ मन्दिरमा पनि आएकाले एक साता अघिदेखि नै साधुसन्त लगायत भक्तजनको भीड बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । गत वर्षदेखि नै पशुपतिमा गा“जा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा प्रहरीले कारवाही गर्ने उनले बताए ।
५८२ ट्राफिक प्रहरी
यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ ।
महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, द्धारिका होटलबाट गौशाला, सिफलबाट जयबागेश्वरी, लामापोखरी कुटुबहाल हु“दै मित्रपार्क, गौरीघाटबाट मित्रपार्क, तिलगंगाबाट गौशालाका सवारीसाधनलाई प्रवेश निषेध गरेको छ ।
यस्तै दर्शनार्थी र विदेशी पर्यटकलाई वाइसिएल मार्ग, कोषका सवारीसाधन र संस्थानका सवारीसाधनलाई देवउद्यानस्थित कोषको कार्यालय, स्थानीय दर्शनार्थीलाई सिफलचौर र बाग्मती कोरिडोर र जोरपाटीबाट चावहिल हु“दै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइको महाशाखाले जनाएको छ ।
पुरानो बसपार्क–सिंहदरबार–नयाँ बानेश्वर–तीनकुने हु“दै गौशाला चल्ने सवारीसाधनलाई सोही रुट फिर्ता, पुरानो बसपार्क, जमल, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल हुँदैँ साँखुसम्म जाने व्यवस्था मिलाइएको छ । कालोपुल हु“दै कपन चल्ने सवारीसाधनलाई लाजिम्पाटबाट महाराजगञ्ज जाने व्यवस्था मिलाइएको छ ।
यसैगरी सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर हुँदै बौद्धसम्म चल्ने माइक्रोबस तथा टेम्पोलाई कृष्णपाउरोटी–नक्साल–चावहिल हु“दै बौद्धसम्म, जोरपाटीबाट सुन्धारा आउने माइक्रोबसलाई नारायणगोपालचोक हुँदै सुन्धारा जाने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।
पास भएका सवारीसाधनलाई भने नक्साल, भगवतीबहाल, सानो गौचरण, कालोपुल हुँदै सिफल आउने र फर्कदा सिफल, चाबहिल गणेशस्थान हुँ“दै चाबहिल निस्कने गरी मार्ग कायम गरिएको छ । प्रहरी बरिष्ठ उपरीक्षक पन्तले शिवरात्रिमा ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ५८२ ट्राफिक प्रहरी परिचालन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्