Logo
Logo

रानीपोखरीको पुनःनिर्माण सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण सुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनःनिर्माण सुरु गरेको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनःनिर्माण हुने बताउनुभयो । उहाँले रानीपोखरीको पुनःनिर्माणमा सबैको सहयोग र साथ रहने विश्वास व्यक्त गर्नु भएको छ ।
रानीपोखरी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको मापदण्डअनुसार विशेष ध्यान दिएर रानोपोखरीको पुनःनिर्माण गर्ने बताउनुभयो ।
रानीपोखरी पुनःनिर्माणमा ४० जना खटिएका छन् । समितिका अध्यक्ष स्थापितले आवश्यकताअनुसार कालिगढहरुको संख्या बढाउने बताउनुभयो । काठमाडौं महानगरपाललिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले रानीपोखरीको पुनःनिर्माणका लागि वडाले आवश्यक सबै सहयोग गर्ने बताउनुभयो ।
पुनःनिर्माण प्राधिकरणले रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनःनिर्माण गर्न प्राधिकरणका कार्यकारी सदस्य डा.चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।
रानीपोखरीको पिंध एवं पर्खाल निर्माण उपभोक्ता समितिमार्फत र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण तथा सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत् गर्ने प्राधिकरणले जनाएको छ । मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनःनिर्माण गर्ने गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्