Logo
Logo

अविश्वास छल्न गण्डकी प्रदेशको अधिवेशन मध्यराती अन्त्य


दृष्टि संवाददाता


कास्की । गण्डकी प्रदेश सरकारले अविश्वास प्रस्ताव रोक्न प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।

प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिस अनुसार गण्डकी प्रदेशसभाको चालु अधिवेशन बुधबार मध्यराती अन्त्य भएको पत्र प्रदेश प्रमुख अमिक शेरचनले सभामुखलाई दिएका छन् ।

गण्डकीमा माओवादी र कांग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् । त्यसका लागि बिहीबार नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै थियो । तर, अविश्वास प्रस्ताव रोक्न प्रदेश प्रमुख शेरचनले मध्यरातमै प्रदेशसभा अन्त्य गरेका छन् ।

मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो । तर, ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर कांग्रेसलाई नयाँ सरकार बनाउन सघाउने नीति लिएपछि मुख्यमन्त्री गुरुङ संकटमा परेका छन् ।

जनमोर्चाको सहयोगमा कांग्रेस, माओवादी र जसपाले आजै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तरखरमा थिए । आफू संकटमा परेपछि रातारात अधिवेशन नै अन्त्य गरिएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् भने काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद रहेका छन् । अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्छ ।

यस्तै नयाँ सरकार बनाउन ३१ सांसदको जरुरी हुन्छ । स्वतन्त्र सांसदको हैसियतमा रहेका दीपक मनाङेको साथ गुरुङलाई रहेको भएपनि उनलाई सरकार जोगाइराख्न ३ सांसदको जरुरत थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव आउने थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्