Logo
Logo

मापदण्डअनुसार रानीपोखरी पुनर्निर्माण शुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० फागुन । ऐतिहासिक रानीपोखरीे पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनर्निर्माण शुरु गरिएको जनाए ।
परम्परागत शैली र प्रविधिमै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनर्निर्माण हुने जानकारी दिँदै उनले भने, ‘रानीपोखरी पुनर्निर्माण शुरु गरिएको छ, त्यसका लागि सबैको सहयोग र साथ रहने विश्वास लिएको छु ।’ पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेकै मापदण्डअनुसार पुनर्निर्माण शुरु गरिएको बताए ।
उनले पुनर्निर्माणमा अहिले ४० कालिगढ खटिएका र आवश्यकता अनुसार तिनको संख्या बढाइने बताए । काठमाडौँ महानगरपाललिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले उक्त पोखरी पुनर्निर्माणका लागि यस वडाले सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पुनर्निर्माण प्राधिकरणले रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना व्यवस्थित तथा समन्वयात्मक ढंगले गर्न प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को गत १४ माघको बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना पुनर्निर्माण गर्न उक्त प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्