Logo
Logo

गाेकुल बाँस्कोटालाई लेखा समिति सदस्य मनोनीत गरिएकोप्रति ट्रान्सपरेन्सीको आपत्ति


दृष्टि संवाददाता


काठमाडाैं । एमाले सांसद तथा पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई लेखा समितिको सदस्यमा मनोनीत गरेकोप्रति  ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले  आपत्ति जनाएको छ ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा ७० करोड रुपैयाँ घुस मागेको आरोप लागेका बाँस्कोटालाई नै लेखा समिति सदस्य मनोनीत गरिएकोप्रति आपत्ति जनाएको हो । उक्त कार्य सरकारको सुशासनमा शून्य सहनशीलताको नीतिविपरीत भएको ट्रान्सपरेन्सीको ठहर छ।

‘सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बाँस्कोटाले ७० करोड रुपैयाँ घुस मागेको अडियो टेपसम्बन्धी प्रकरणको छिनोफानो भइसकेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘लेखा समितिले सेक्युरिटी खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप छानविन गरी भ्रष्टाचार मुद्दा लगाउन २०७६ फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो।’

लेखा समितिले छानविन गरी मुद्दा नचलाएको विषयमा आयोगसँग जानकारी मागिरहेको अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ। बाँस्कोटालाई लेखा समितिकै सदस्य बनाएपछि यो प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएकाले बाँस्कोटालाई लेखा समितिमा पठाइनु सर्वथा अनुचित भएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्