Logo
Logo

कर्णालीमा ‘फ्लोर क्रस’ एमाले नै नठान्ने प्रवृत्तिविरुद्ध होः प्रकाश ज्वाला


दृष्टि संवाददाता


काठमाडौं । एमालेका विद्रोही नेता प्रकाश ज्वालाले माओवादी नेतृत्वको कर्णाली सरकारको विपक्षमा मत एमाले नै नठान्ने प्रवृत्तिविरुद्धको विद्रोह रहेको बताएका छन् ।

पार्टीभित्र जबर्जस्ती, एकलौटी, अर्को पक्षलाई पेल्ने तरिकाले जाने जुन प्रवृत्ति छ, त्यसलाई चुनौती दिन पनि मत दिएको उनले बताए ।

नयाँ पत्रिकामा अन्तर्र्वाता दिँदै उनले यो कदम कर्णालीको मात्र हो कि राष्ट्रियस्तरको रणनीति पनि रहेको बताएका छन् । ‘राष्ट्रिय राजनीतिबाट कर्णाली अछुतो हुँदैन । हामीले केन्द्रसँग आवश्यक सरसल्लाह गरेर निर्णय गरेका हौँ । हामीलाई कर्णालीमा पनि पेलान छ, एमाले नै नठान्ने प्रवृत्ति छ, यो प्रवृत्तिविरुद्धको विद्रोह पनि हो ।’ उनले भनेका छन् ।

‘पार्टीभित्रको समस्या सबै प्रस्ट छ अन्याय छ, विभेद छ । जबर्जस्ती, एकलौटी, अर्को पक्षलाई पेल्ने तरिकाले जाने जुन प्रवृत्ति छ, त्यसलाई हाम्रो चुनौती पनि हो । र, पार्टी नमिलाउँदा, पार्टीभित्रको समस्या व्यवस्थापन नगर्दा, पार्टीलाई एकताबद्ध नगर्दा पार्टीले क्षति व्यहोर्दोरहेछ भन्ने पाठ पनि नेतृत्वले सिकोस् र पार्टीलाई एकताबद्ध गर्न दबाब पुगोस् भन्ने हिसाबले अहिलेको निर्णय गरेका हौँ ।’ उनले भनेका छन् ।

‘फ्लोर क्रस’ गर्ने तपाईंहरूको पूर्वतयारी थियो कि अन्तिम समयमा आएर नीति परिवर्तन गर्नुभयो ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘पहिलेदेखि धेरै तयारी गर्नुपर्ने विषय नै थिएन नि १ यसका पृष्ठभूमि आफैँ तयार भएका थिए । हामीले छलफल गर्‍यौँ, यो निष्कर्षमा पुग्यौँ । त्यसपछि त्यसलाई कार्यान्वयनमा लग्यौँ ।’

त्यस्तै, ‘कर्णालीमा जे भयो, केन्द्रीय राजनीतिलाई अब कस्तो मार्गदर्शन गर्छ ?’ भन्ने प्रश्नको जवाफमा उनले भनेका छन्, ‘कर्णालीका सन्दर्भमा हामीले आफ्नो निर्णय लिएका हौँ । यो घटनालाई राजनीतिक दलका नेताहरूले कसरी लिनुहुन्छ, बाँकी त्यसमा भर पर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्