Logo
Logo

राजनीतिमा नयाँ ध्रुवीकरण: जसले गरे पदको मोह नगरी ‘फ्लोर क्रस’ !


दृष्टि संवाददाता


काठमाडौं । आफ्नो पदको मोह नगरी एमालेको माधव नेपाल पक्षका चार जना सांसदले फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका छन् ।

यसले केन्द्रीय राजनीतिलाई पनि प्रभाव पार्ने निश्चित छ । ओली सरकारले जनता समाजवादी पार्टी (जसपा) कै साथ पाएपनि माधव पक्षले फ्लोरक्रस गरिदियो भने सरकार जोगिन सम्भव हुने छैन। कर्णालीको घटनाले राजनीतिमा नयाँ खाले ध्रुवीकरणको रेखा कोरेको छ । आगामी घटनाक्रमहरु तीब्र गतिमा विकसित हुने संकेत मिलेको छ ।

नेपाली काँग्रेसले मात्र कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिएर नपुग्ने अवस्था थियो । यसका निम्ति प्रधानमन्त्री ओलीले झापाको संसदीय निर्वाचन क्षेत्रसहित राजधानी काठमाडौँको महानगरीय निर्वाचनमा एमालेसंग तालमेल मिलाएको राप्रपालाई तटस्थ बस्ने निर्णयमा पुर्याउनुभयो । जसले गर्दा शाहीको सरकार ढल्ने अवस्था देखा परिसकेको थियो ।

तर, यसैबीच अप्रत्यासित परिणाम आयो । खाइपाइ आएको माननीयको सुविधा छापामार शैलीले त्याग्न प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा तयार भएपछि शाहीका निम्ति अनुकूल परिस्थिति सृजना हुन पुगेको हो ।

ज्वाला यसअघि आर्थिक मामिला मन्त्री हुनुहुन्थ्यो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमाले प्रवेश गरेका माओवादीका धर्मराज रेग्मी निलम्बित छन् । बाँकी ३९ मध्ये एमाले एक्लैको २० सांसद छन् । माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन २० सांसदको साथ चाहिन्थ्यो । तर, एमालेबाहेक सबै एकातिर मिल्दा पनि १९ जना मात्र हुने स्थितिकाबीच माधव नेपाल पक्षका चार सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि सरकार जोगिएको हो ।

सभार : जनआस्था साप्ताहिक

प्रतिक्रिया दिनुहोस्