Logo
Logo

नेपालमा एकसिंगे गैंडाको संख्या बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । विश्वकै दुर्लभ मानिएको एकसिंगे गैंडाको संख्या नेपालमा बढेको छ । विश्व मानव जातिलाई नेपालले अप्रत्यासित रूपमा एउटा खुसीको खबर बाँडिरहँदा संरक्षणमा प्रत्यक्ष सरोकार राख्ने हजारौँ अनुसन्धानदाता, प्राध्यापक, विद्यार्थी, फोटोग्राफर, वन्यजन्तु पर्यटक तथा वन्यजन्तु अधिकारकर्मीले एकैपटक ‘वाउ नेपाल’ भनेर नेपालले संरक्षणका क्षेत्रमा गरेको प्रयासको सराहना गरे ।

गत चैत ९ गतेबाट चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट गैँडा गणनाको शुभारम्भ गरेको सरकारले चैतको अन्तिम साता गणनाको प्रतिफल सार्वजनिक गर्न सफलता हासिल गर्यो । नेपालमा एकसिङे गैँडाको गणना हुन थालेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले निरन्तर प्रवाह गरिरहँदा विश्वको ध्यान नेपालको गैँडातर्फ तानिनु स्वाभाविकै थियो ।

जब नेपालले गैंडाको राष्ट्रिय गणनाको प्रतिवेदन सार्वजनिक गर्यो अनि संरक्षणमा लामो अनुभव बटुलेका अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्थाका प्रतिनिधिले एक मतले टिप्पणी गरे, नेपालले विश्वसमुदायका अगाडि ‘एक नमुनायोग्य’ काम गरेको छ ।

हुन पनि हो, वार्षिक आर्थिक वृद्धि दर एक अङ्कमा रहँदै आएको राष्ट्र नेपालले हरेक वर्ष प्राकृतिक विपत्तिको सामना गर्दै बढ्दो जलवायु परिवर्तनको असर र विश्वव्यापी रूपमा बढेको तापक्रमको प्रभावलाई समेत उछिनेर विश्वमै सानो सङ्ख्यामा सीमित भएको एकसिङे गैँडाको सङ्ख्या वृद्धि गर्न सफलता हासिल गरेपछि अन्तर्राष्ट्रिय समुदायले नेपालको ‘आश्चर्यजनक सफलता’ भन्नु स्वाभाविकै थियो ।

नेपालमा सन् १९५० को दशकमा पहिलो पटक गैँडाको औपचारिक रूपमा गणना गर्ने काम भएको हो । तत्कालीन अवस्थामा आठसयको हाराहारीमा रहेका गैँडाको सङ्ख्या सन् १९७० को दशकसम्म आइपुग्दा त एक सयभन्दा तल झरिसकेको थियो ।

यो समयमा नेपालमा मात्र होइन, विश्वमा औद्योगिक युग सुरु भएसँगै प्राकृतिक स्रोत माथिको अधिक दोहनले संसारभरि नै धेरै प्रजातिका वन्यजन्तु लोप भए, अस्तित्व मेटिए । वन्यजन्तुका लागि यो समय ‘सङ्कटकाल’ लागे झैँ भएको थियो ।

सन् १९७० पछि केही सकारात्मक काम भए । जसअनुसार नेपालमा गैँडा, बाघ, हात्तीजस्ता वन्यजन्तुको सङ्ख्यामा वृद्धि हुँदै थियो । नेपालमा १० वर्षको आन्तरिक द्वन्द्वको समय फेरि वन्यजन्तुका लागि अप्ठ्यारो समयको रूपमा साबित भयो । १० वर्षको द्वन्द्वको अवधिमा ६० भन्दा बढी गैँडा र त्यति नै सङ्ख्यामा बाघको चोरीशिकारी भयो । दर्जनौँ हात्तीको दाँत काटेर हात्तीलाई कुरूप पारियो ।

नेपालले पछिल्लो पटक गरेको संरक्षणका कामले गैँडाको सङ्ख्या सन् १९५० को स्थिति नजिक पुग्न आँटेको छ । सन् १९५० तिर आठ सयको सङ्ख्यामा रहेको एकसिङे गैँडा सन् २०२१ को गणनामा आइपुग्दा ७५२ पुगेको छ ।

‘बिगार्न र भत्काउन खासै समय लाग्दैन तर सपार्न र व्यवस्थापन गर्न निकै लामो समय र मिहिनेत लाग्दो रहेछ’, एकसिङे गैँडामा विद्यावारिधि गरेका डा. शान्तराज ज्ञवालीले भने, ‘झण्डै ७० वर्षको प्रयासपछि हामी सन् १९५० तिरको ऐतिहासिकता नजिकै पुग्ने कोसिस गर्दैछौँ । चोरीशिकारीको निशानामा पर्दै वनजङ्गलबाट रित्तिएका गैँडालाई फेरि जगेर्ना गर्न सरकार, दातृ निकाय र स्थानीय समुदायको साझा प्रयास सफल भएको छ । यसले ती वन्यजन्तुको अस्तित्व अझै छ भने सन्देश विश्व समुदायलाई दिएको छ ।’

विश्व समुदायको नजर
गैँडाको सङ्ख्या बढेको समाचार सार्वजनिक भएपछि चितवनको सौराहालगायत ठाउँमा दीप प्रज्वलन गरियो । जसको खबर विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका प्रमुख डा. घनश्याम गुरुङले विश्वभरि रहेका आफ्ना सहयात्रीसँग साटे। उनले भने, ‘नेपाल आर्थिक रूपमा सम्पन्न राष्ट्र होइन तर संरक्षणका लागि धनी मुलुकको भन्दा छाती चौडा बनाएर काम गरेको छ ।’ आजको गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्