Logo
Logo

सिँगो बस्तीमै हाइभोल्टेज : एक जनाको मृत्यु, १५ घाइते


दृष्टि संवाददाता


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा शनिबार सिँगो बस्तीमा हाइभोल्टेज विद्युत् प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ ।

मोबाइल चार्ज गर्ने क्रममा हाइभोल्टेज प्रवाह हुँदा घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका ४ भुटडाँडाका ५३ वर्षीय चन्द्रबहादुर कार्की रहेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । उनका अनुसार मोबाइल चार्ज गर्नेक्रममा अकस्मात करेन्ट लाग्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।

करेन्ट लागेर नेवार गाउँका ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीय पदमबहादुर श्रेष्ठ, ९ वर्षीया सावित्रा निरौला, जिमी गाउँका ६ वर्षीय लाजिहाङ जिमी, लीलादेवी भण्डारी, सुष्मा शिवा, उदय शिवा, मोतीमाया जिमी, सम्झना लिम्बु, उमेश शिवा, सुजा जिमी, सुरेन जिमी, नेत्र श्रेष्ठ, तारा कटुवाल घाइते भएका छन् ।

टिभीको प्लग जोड्ने क्रममा जिमीलाई करेन्ट लागेको थियो भने बाँकी ३ जनालाई मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।

उनका अनसार गाउँभर एक्कासी हाइभोल्टेज गएर धेरै क्षति पु¥याएको हो । नगरपालिकाको पहलमा घाइतेहरुलाई उपचारका लागि पठाइएको थियो । सामान्य घाइते ७ जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

हाइभोल्टेज प्रवाह हुँदा अधिकांश घरमा मोबाइल, टिभी, बत्तीलगायतका सामाग्रीमा क्षति पुगेको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । कसरी हाइभोल्टेज भयो भन्ने विषयमा अनुसन्धान भइरहेको विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्