Logo
Logo

बैंक ठग्ने नयाँ शैली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । दुई महिनाअघि गाडीको नक्कली ब्लुबुक धितो राखेर कर्जा लिई करोडौं ठगी गरेको घटना सार्वजनिक भयो । देवः विकास बैंकका कर्मचारीसँग मिलेर काभ्रेका नारायण श्रेष्ठलगायतले नक्कली ब्लुबुकका आधारमा करिब तीन करोड हात पारेका थिए । पैसा त लिन सफल भए तर, तिर्न नसक्दा उनीहरु प्रहरीमा फन्दामा परे ।

यस्तै एक समूह भने बैंकबाट पैसा लिनै नपाई प्रहरी फन्दामा परेको छ । नक्कली जग्गाको नक्सा पेश गरी बैंकलाई झुक्याएर कर्जा लिन खोज्ने दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको छ । प्रेमबहादुर भण्डारी र सम्बोधी शाक्यलाई केही दिनअघि सिआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।
उनीहरुले नक्कली धितो राख्न खोजेका होइनन् । एक ठाउँको जग्गा देखाएर अर्काे ठाउँको जग्गा धितो राखी कर्जा लिने प्रयास गरेका थिए । उनीहरुले देखाएको जग्गाको आधारमा एक करोड ३० लाख रुपैयाँ बराबरको कर्जा ज्योति विकास बैंकबाट स्वीकृत भइसकेको थियो । तर, बैंकका धितो मूल्याङ्कनर्ताको चलाखीका कारण उनीहरुको बदमासी बाहिर आयो र बैंक जोगियो ।
बैंकको धितो मूल्याङ्कनकर्तालाई जग्गा नापजाँच गर्ने क्रममा केही शंका लाग्यो । ट्रेस नक्सामा उल्लेख गरिएअनुसारको जग्गाको अवस्था थिएन । बैंकमा सडक छेउको जग्गा देखाइएको थियो । तर, वास्तविक जग्गा भने निकै कम मूल्य पर्ने थियो । मूल्याङ्कनकर्तालाई शंका लागेर बुझ्दा ट्रेस नक्सा नै नक्कली भएको र बैंकलाई उनीहरुले झुक्याउन खोजेको रहस्य खुल्यो । सोही अनुसार बैंकले सिआईबीलाई खबर गरेर भण्डारी र शाक्यलाई पक्राउ गरेको हो ।
उनीहरु जग्गाको कारोबार गर्ने व्यक्तिहरु हुन् । एउटा क्याफे पनि चलाएका छन् । आफ्नो व्यापार बढाउन पैसा नभएपछि उनीहरुले ऋण लिन गलत बाटो अपनाएका हुन् । यदि धितो मुल्याङ्कनकर्ताले गल्ती पत्ता नलगाएको भए यो घटनामा बैंकका कर्मचारीहरुसमेत पछि फन्दामा पर्ने थियो । यस्ता घटनामा बैंक कर्मचारीको समेत मिलेमतो हुने गरेको छ ।
सरकारी क्षेत्रमा जस्तै बैंकिङ क्षेत्रमा पनि भ्रष्टाचार बढ्दो छ । खासगरी कर्जा शाखामा काम गर्ने कर्मचारीहरुमा कमिसन बिना काम नगर्ने बानी बसिसकेको छ । जसका कारण बैंकिङ क्षेत्रमा सर्वसाधारणले कर्जा पाउनै गाह्रो हुने र पाए पनि धितोको तुलनामा थोरै मात्र पाउने गरेका छन् । पहुँचवालाहरुले धितोबिना नै बैंकबाट कर्जा लिने गर्दछन् । बैंकका सञ्चालकदेखि कर्मचारीसम्मलाई प्रभावमा पारेर कर्जा लिने गरेका छन् । बैंकिङ क्षेत्रको बेथिति रोक्न राष्ट्रबैंकको नियमन समेत बलियो हुनसकेको छैन । प्रहरीले पटक पटक पक्राउ गर्दा पनि बैंकिङ क्षेत्रको अनियमितता नियन्त्रण हुन सकेको छैन । राष्ट्र बैंकको नियमन कडा भएमा बैंकको कर्मचारीसँग मिलेमतो गरेर कर्जा लिनेहरु हतोत्साही हुने थिए ।

प्रतिक्रिया दिनुहोस्