Logo

को हुन् रवीन्द्र अधिकारी ?


Published On : 5 March, 2019

२०२६ वैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाविस जमुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रूपमा जन्मेका रवीन्द्र अधिकारीले आफ्नो गाऊँकै ब्रह्मज्योति प्रावि शान्ति पंधेरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्तिउदय मावि बरपाण्डेथुमबाट माध्यामिक शिक्षा हासिल गरेका थिए ।

बुवा इन्द्रप्रसाद अधिकारी माध्यमिक विद्यालयका शिक्षक थिए, जसका कारण पनि उनलार्ई शिक्षाका लागि राम्रो वातावरण घरदेखि नै थियो । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस, र क्लबहरूमा संलग्न भए । विद्यार्थीका लागि निःशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाइ, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायतका मध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी विद्यालय जीवनमा विद्यालयका जेहन्दार, अध्ययनशील, र अनुशासित विद्यार्थी थिए । त्यस समयमा उनले विद्यालयमा मात्र होइन, त्यसक्षेत्रमै अनेरास्ववियुको नेतृत्व पनि गरे ।

विद्यार्थी राजनीति र उच्च शिक्षा
एसएलसी उत्तीर्ण गरेपछि वन विज्ञान अध्ययन संस्थानमा भर्ना भएका अधिकारीले केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरे । विद्यालयदेखि नै राजनीतिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि उनी विद्यार्थी राजनीतिक गतिविधिमा मात्र सीमित नभई नेतृत्वकर्ताको रूपमा उदाए । २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भए । २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बनेका अधिकारी २०५३ सालमा नै स्ववियु काउन्सिल नेपालका संयोजकमा निर्वाचित भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले संविधानसभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गरे । बिगत दुई दशकदेखि उनका सयौँ अनुसन्धान र राजनीतिक लेख छापिएका छन् । २०४५ मा १ वर्ष माध्यमिक विद्यालयमा शिक्षक पनि बने । अधिकारी पछिल्ला दिनमा पनि विभिन्न क्याम्पसहरूमा अतिथिको रूपमा अध्यापन गराउँथे । एशियाली विद्यार्थी सँगठन, विश्व प्रजातान्त्रिक युवा संघलगायत अन्तर्राष्ट्रिय युवा विद्यार्थी सँगठनमा संलग्न भएर भूमिका निर्वाह गरेका अधिकारी विभिन्न अन्तराष्ट्रिय सम्मेलनमा भाग लिने र आफ्ना प्रस्तुति राख्ने गर्थे ।

विद्यार्थी आन्दोलन र जेल

पञ्चायतकालमा विद्यार्थी आन्दोलन शैक्षिक मुद्दा र माग तत्कालीन व्यवस्थासँग नै जोडिएका हुन्थे । ‘आजको आवश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागि पञ्चायतको अन्त्य’ भन्ने नाराका साथ ०४६ को जनआन्दोलनमा क्रियाशील रवीन्द्रले पटक–पटक गरी ६ महिना जेल र हिरासतमा बिताए । ०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उनी क्याम्पस, जिल्ला र संयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गर्न सफल थिए । ०४६ को परिवर्तनपछि विद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने विचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन नै गरे । कलेज भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माण, शैक्षिक वातावरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप शैक्षिक गुणस्तर सुधार, क्याम्पसमा विद्यार्थीको पोशाक आदि कुराहरूमा ठूलो सुधार र परिवर्तन भयो ।

त्रिविका स्ववियु सभापति हुँदा पुस्तकालय, शैक्षिक वातावरण, शैक्षिक गुणस्तर, खेल मैदान निर्माण, प्रवेश परीक्षा, वरिष्ठ प्राध्यापकहरूको सम्मान जस्ता रचनात्मक कार्यक्रम सञ्चालन गरेर लोकप्रियता कमाएका अधिकारीले विश्व विद्यालयमा निरन्तर प्राज्ञिक बहस चलाउँथे ।
शिक्षामा भएको निजीकरण र व्यापारिकरण, प्राविधिक शिक्षाको विस्तार र गुणस्तरियता, सबैकालाई गुणस्तरीय शिक्षा, जस्ता आन्दोलन र राष्ट्रियताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू–भाग डुबाउने लक्ष्मणपुर बाँधको विरोध तथा शाहज्यादा पारस शाहको ज्यादतीविरुद्द हस्ताक्षर अभियानसहितको आन्दोलन, हत्यारा बस्ने दरबारमा हैन जेलखानमा हो भन्दै पाँच लाख २३ हÞजार हस्ताक्षर दरबारमा बुझाउने, यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण विद्यार्थी आन्दोलनमा उनको नाम नमेटिने गरी लेखिएको छ ।

पार्टी राजनीतिमा योगदान
२०३५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका नेता अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित भएका थिए । २०४० मा इलाका पार्टी कमिटीमा, २०४६÷४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यस पछि लगातार जिल्ला कमिटीमा सक्रिय रहे । २०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिव र ०६३ मा पनि पुनः सचिवमा निर्वाचित भए । ०६२÷६३ को अन्दोलन र त्यसअगाडिको प्रतिगमनविरुद्धको आन्दोलनमा उनको यसक्षेत्रमा खरोरूपमा नेतृदायी भूमीका रह्यो । पार्टीको राष्ट्रिय परिषद् सदस्य, अञ्चल कमिटी सदस्य भएर काम गरेका उनले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य, केन्द्रीय पार्टी स्कुल विभाग र संसदीय विभागको सदस्य रहेर काम गरे । उनी केन्द्रीय कमिटिका सदस्य पनि बने ।

संविधानसभा सदस्य, सांसद र पर्यटनमन्त्री
२०६४ र २०७० र पछिल्लो आम निर्वाचनमा उनले कास्कीबाट लगातार जित हासिल गरे । सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भए । सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत्, फ्रिक्योंसी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, मेसिन रिडएबल पासपोर्ट आदि विषयमा विभिन्न उप–समितिमा रहेर त्यसको नेतृत्व गरी काम काम गरे । संविधानसभामा राष्ट्रिय हितको संरक्षण समिति र युवाहरूको दबाब समिति निर्माण गरी संविधान निर्माणमा निरन्तर खबरदारी गरे । संविधान निर्माणमा सुरक्षा र अन्तराष्ट्रिय सीमाका विषयमा उपसमितिको नेतृत्व गरेका थिए । २०७० को चुनावपछि संसद्को विकास समितिमा सभापति भए । विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरू र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशील रहे । दुई कार्यकाल निर्वाचित हुँदा नै मन्त्री बन्ने चर्चा चले पनि उनलाई मन्त्री बन्ने सफलता भने पछिल्लो संसदीय निर्वाचनमा विजयी भएपछि मात्र मिल्यो । पछिल्लो निर्वाचनमा उनी कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित उनले संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय समालेपछि खासगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल र अन्य पर्यटन क्षेत्रमा पूर्वाधार निर्माणका कामले गति लिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरिकरण र दैनिक २२ घण्टा चलाउने जस्ता लोकप्रिय काम उनका पालामा भएका छन् । त्यति मात्र होइन देशका दुरदराजमा बन्द रहेका विभिन्न विमानस्थलमा उनकै पालामा पुनः जीवन पनि उनकै जीवनकालमा पाए ।

पर्यटनमन्त्री भएपछि रवीन्द्र अधिकारीका मुख्य काम
१. मन्टियल सन्धि संसद्बाट पास गरी कार्यान्वयनमा ल्याए । यसले अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा नेपालको बिमा २० लाख रुपैयाँबाट डेढ करोडभन्दा माथि पुग्यो ।
२. राष्ट्रिय गौरवका रूपमा घोषित भैरहवा, पोखरा, निजगढ विमानस्थल निर्माणमा तीव्रता, अल्झन फुकाउने काममा उनको सक्रियता विशेष थियो ।
३. उनको कार्यकाल अवधिमा नेपालमा सर्वाधिक पर्यटक नेपाल भित्रिए, सन् २०१८ मा ११ लाख ७३ हजार ३२ जना पर्यटक नेपाल आए ।
४. नेपाल भ्रमण वर्ष २०२० को आधार तयार पार्ने काम गरे । पर्यटन व्यवसायीमा आत्मविश्वास बढाउन उनको ठूलो भूमिका छ ।
५. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घन्टा सञ्चालन, त्रिभुवन विमानस्थलको स्तरोन्नतिमा रहेका गाँठा फुकाउन सहजीकरण गरे ।
६. धनगढी र चन्द्रगढी विमानस्थलमा रात्रिकालीन उडान सुरु गरे । आन्तरिक नेपाली वायुसेवा कम्पनीले रात्रिकालीन विमान उपत्यकाबाहिर बस्ने गरी काम सुरु गरे । यसले त्रिभुवन विमानस्थलको चाप घटाउन भूमिका खेलेको छ ।

कुशल युवा नेता गुमेको त्यो क्षण

ताप्लेजुङमा फागुन १५ मा भएको हेलिकोप्टर दुर्घटनामा जनताका प्रिय युवा नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भयो । गत शुक्रबार पोखरा महानगरपालिकाको रामघाटमा अन्त्येष्टि गर्नुअघि मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या, छोराद्वय विराज र स्वराजले दागबत्ती दिए भने सरकारको निर्णयअनुसार शव राजकीय सम्मानस्वरूप नेपाली सेनाको टुकडीले सलामी अर्पण ग¥यो । उनको शव यात्रामा हजारौँ सहभागी बने । काठमाडौंको टुडिखेलमा सम्माननीय राष्ट्रपति विद्या भण्डारी स्वयम् उपस्थित भएर श्रद्धाञ्जली व्यक्त गर्नुभयो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू, संघीय सरकारका मन्त्रीहरू, विदेशी कुटनीतिक नियोगका पदाधिकारीहरूसहित सयौँ शुभचिन्तक, पार्टीका नेता–कार्यकर्ताले श्रद्धाञ्जली दिए । यस्तै, पोखरामा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय झन्डा ओढाए भने वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी भए ।
प्रिय नेता अधिकारीको अन्तिम श्रद्धाञ्जली र शवयात्रामा हजारौँ सहभागी बने । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हजारौँको संख्यामा सर्वसाधारणको उपस्थिति थियो । गण्डकी प्रदेशका अधिकांश जिल्लाबाट मात्र नभई प्रदेश ५ का पाल्पा, गुल्मी, रुपन्देहीलगायत जिल्लाबाटसमेत सयौँ शुभचिन्तक उपस्थित भएका थिए । संघीय संसद्का दुवै सभाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले र राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोक प्रस्ताव दुवै सदनले सर्वसम्मतिले पारित गर्यो । शोक प्रस्तावमा भनिएको छ, ‘ताप्लेजुङ फुङलिङ नगरपालिका–१० मा पर्ने सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनमा परेर मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा फागुन १५ गते बुधबारका दिन असामयिक निधन भएकामा शोक प्रकट गर्छ ।’ दुवै सभाका बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएका थिए । अधिकारी ०६४ र ०७० मा संविधानसभा सदस्य थिए भने ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र २ बाट निर्वाचित भएका थिए ।
दुर्घटनामा अग्रणी पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टर पाइलट प्रभाकर केसी र पर्यटनमन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको पनि निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्