Logo
Logo

माधव नेपालको टिप्पणी-‘कर्णालीमा ओलीलाई सिध्याइदियौँ’


दृष्टि संवाददाता



काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा सबै दलसँग मिलेर अध्यक्ष केपी शर्मा ओलीलाई हैसियत देखाइदिएको टिप्पणी गरेका छन् ।

आइतबार काभ्रेपलाञ्चोकमा समानान्तर कमिटी घोषणा गर्दै नेता नेपालले कर्णाली प्रदेशमा फ्लोर क्रस गराएर ओलीको हैसियत देखाइदिएको बताएका हुन् ।

उनले कर्णाली प्रदेशका एमाले संसदीय दलका नेता यामलाल कँडेललाई पनि कटाक्ष गर्न भ्याए । उनले भने, ‘राजनीतिक भविष्य नै सिध्याइदिने भनेपछि मर्ता त क्या नही कर्ता भन्ने अवस्था आएपछि उसैलाई सिध्याइदिए । उनको अहिले बिजोग भएको छ ।’

नेता नेपालले पत्रकार महासंघको चुनावमा पनि ओलीले आफ्नो हैसियतबारे चाल पाएको भन्दै व्यंग्य गरे । उनले भने ‘पत्रकार महासंघको चुनावमा हाम्रा साथीहरू कांग्रेस, माओवादीसहित ११ संगठन एकातिर भएर गए । केपीको सानो गुट अर्कोतिर थियो । हामीले पत्रकार महासंघमा अरुसँग मिलेर छक्का हान्यौं, केपीका मान्छे टर्च बालेर खोज्नुपर्ने भएको छ’, नेता नेपालले भने, ‘केपीका हनुमानले माधव नेपालका मान्छेलाई एक सिट पनि नदिने भनेका थिए । हामीले तिनीहरूलाई देखाइदियौं ।’

यस्तै नेपालले शनिवार सर्वदलीय बैठकमा नबोलाएको प्रति असन्तुष्टी जनाए । ओलीले विदेशीहरू र जसपाको एउटा पक्षसँग छलफल गर्ने तर आफूहरुलाई निषेध गर्ने नीति लिएपछि ‘मर्ता त क्या नही कर्ता’को अवस्थामा आफूहरू पुगेको उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्