Logo
Logo

‘संविधान रक्षाका लागि पत्रकारको भूमिका महत्वपूर्ण छ’


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान रक्षाका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौैँ शाखाले सोमबार राजधानीमा आयोजना गरेको नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र देशको विकासका लागि प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताएका हुन्।

नेता सिंहले विगतका समयमा सङ्कटको घडीमा कांग्रेसले सरकारलाई साथ दिएको जनाउँदै आगामी दिनमा पनि कांग्रेस देश र जनताका पक्षमा उभिने स्पष्ट पारे ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा देखिएको कमीकमजोरीलाई औँल्याउने जिम्मा पत्रकारिता जगत्को भएको उनको भनाइ थियो ।

कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री उदयशम्शेर राणाले वर्तमान सरकारले संविधान मिच्ने प्रयास गरेको आरोप लगाउँदै उक्त कदमविरुद्ध पत्रकार एक भएर उभिनुपर्ने बेला आएको बताए । संविधान र सञ्चार क्षेत्रलाई सरकारले हस्तक्षेप गर्न खोजेको उनको आरोप थियो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले प्रेस स्वतन्त्रता र विकासको पक्षमा निरन्तर उभिन नयाँ कार्यसमितिलाई आग्रह गरे । पत्रकार महासङ्घ र महानगरपालिका सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्