Logo
Logo

अख्तियारमा यस्तोसम्म हुन्छ


दृष्टि संवाददाता


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सानालाई छाड्दैन र ठूलालाई छुँदैन भन्ने आरोप छ । तर, आयोगका केही निर्णयहरु हेर्दा सानाको हकमा पनि पावर छ भने आयोगले नछुने गरेको देखिन्छ ।

छानबिनका क्रममा भ्रष्टाचार पुष्टि भएका कतिपय घटनामा आयोगले कारबाहीका लागि पत्राचार गरेर उन्मुक्ति दिने गरेको प्रमाण भेटिएको छ । नक्कली शैक्षिक प्रमाणपत्र भएकादेखि फेल भएकालाई लाइसेन्स दिनेसम्मका धन्दामा संलग्न कर्मचारीलाई आयोगले चलखेलका आधारमा उन्मुक्ति दिएको छ ।

यातायात व्यवस्था कार्यालय ललितपुरका तत्कालिन कार्यालय प्रमुख आनन्दकेशरी पोख्रेलको नेतृत्वमा ट्रायलमा फेल भएकालाई पनि पास भएको देखाएर लाइसेन्स दिइएको पुष्टि हुँदा पनि मुद्दा दायर भएन । आयोगको छानबिनमा ट्रायलमा फेल भएका एक हजार २ सय ८४ जनालाई पास भएको देखाएर लाइसेन्स दिइएको थियो । त्यसमा आयोगले मुद्दा नलचाई ती लाइसेन्स खारेज गर्न यातायात व्यवस्था विभागलाई लेखेर पठाएको थियो । यस्तै किमिसको भ्रष्टाचारमा आयोगले यातायातका दर्जनौं कर्मचारीविरुद्ध मुद्दा चलाएको छ । यसमा मुछिएका केही व्यक्तिहरु पहुँचवाला भएकाले उनीहरुविरुद्ध मुद्दा नलचाइएको स्रोत बताउँछ ।

कीर्ते शैक्षिक प्रमाणपत्रसम्बन्धि अर्काे मुद्दामा पनि अख्तियारले अन्य निकायलाई सिफारिस गरेर टारेको पाइएको छ । गोरखापत्र संस्थानमा कार्यरत वासुदेव पोखरेलले स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको सम्बन्धि आयोगमा उजुरी प¥यो । छानबिनका क्रममा उनको प्रमाणपत्र नक्कली भएको खुल्यो । उनलाई बयानलाई बोलाउँदा एक साथीले आफुलाई सो प्रमाणपत्र दिएको बताए । ती साथी हाल सम्पर्कविहिन भएको भन्ने वहानामा आयोगले उनीविरुद्ध मुद्दा चलाएन । यसबारे अनुसन्धान गर्न भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो । सरकारी सेवामा कार्यरतको नक्कली शैक्षिक प्रमाणपत्र भएको पुष्टि हुँदा पनि आयोगले चलखेलकै आधारमा यसरी मुद्दा नचलाउने गरेको देखिन्छ ।

आयोगले ठूला भ्रष्टाचार र ठूला शत्तिशाली व्यक्तिविरुद्ध त मुद्दा चलाउने गरेको छैन नै । साना प्रकरणमा समेत यसरी उन्मुक्ति दिने गरेको पाइएको छ । यसले आयोगभित्रै हुने भ्रष्टाचारको अवस्था देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्