Logo
Logo

बाँकेमा एक साता लकडाउन गर्ने डीसीसीएमसीकाे निर्णय


दृष्टि संवाददाता


नेपालगन्ज । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले बाँकेमा एक साता लकडाउन गर्ने निर्णय गरेकाे छ । मंगलबार बसेको डीसीसीएमसीकाे बैठकले बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न सिफारिस गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताए । ‘लकडाउनका लागि सिफारिस गरेका छौं,’ प्रजिअ गेलालले भने, ‘के कस्तो अवस्थामा र कहिलेसम्म भन्ने विषयमा छलफल गरिरहेका छौँ तर ९ गतेबाट लकडाउन हुन्छ ।’

बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ५ सयभन्दा बढी संक्रमित छन् । संक्रमितको केही दिनदेखि दैनिक नै मृत्यु भइरहेको छ ।

कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदरसमेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउनका लागि दबाब दिएका थिए । सोमबार भेरी अस्पतालमा मात्र ३७५ जनाको परीक्षण गर्दा २१९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्