Logo
Logo

एसियाकै प्रभावशाली युवाको सूचीमा गौरिका सिंह


दृष्टि संवाददाता


काठमाडौँ । नेपाली स्वीमर (पौडीबाज) गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् ।चर्चित अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन् ।

एसियामा यस क्षेत्रमा सबैभन्दा धेरै उपलब्धी हासिल गरेका ३० वर्षमुनिका ३० जनामध्ये गौरिका पनि छानिएकी हुन् । यो सूचीका लागि कूल ३ सय जना मनोनयनमा परेका थिए । तीमध्येबाट ३० जना छानिएका हुन् ।

फोर्ब्सले लेखेको छ, ‘गौरिका सिंह नौ वर्ष भएदेखि नै पौडीमा छिन् र १२ वर्षदेखि नै नेपालको लागि प्रतिस्पर्धा गरिरहेकी छन् । दक्षिण एसियाली खेलकुद २०१९ मा चार स्वर्ण, दुई रजत र तीन कांस्यपदक जितिन् । उनी रियो ओलम्पिक २०१६ मा सबभन्दा कम उमेरकी खेलाडी थिइन् । उनी टोकियो ओलम्पिक २०२० लाई पनि छनोट भएकी छन्, जुन स्थगित भएर जुलाई–अगस्ट २०२१ मा हुदैछ । पौडीबाहेक उनी समाजसेवामा पनि संलग्न छिन् । उनी गैरनाफामूलक संस्थाहरू माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्‍भावना दूत हुन् ।’

उनीसहित ३० वर्षमुनिका ३० जना प्रभावशाली युवालाई फोर्ब्सले थर्टी अन्डर थर्टी एसियाको इन्टरटेन्मेन्ट एन्ड स्पोर्टस् विधामा समावेश गरेको हो । गायकरगायिकासहित मनोरन्जन उद्योगमा संलग्न युवाहरू र खेलाडीलाई यस विधामा राखिएको छ । फोर्ब्सको यस विधामा गत वर्ष नेपाली एमेच्योर गल्फर प्रतिमा शेर्पा परेकी थिइन् ।

यसपाली गौरिकासहित दुई नेपाली युवा फोर्ब्सको सूचीमा परेका छन् । २९ वर्षीय प्रकाश काइराला ‘फाइनन्स एन्ड भेन्चर क्यापिटल’ तर्फ महादेशकै प्रभावशाली ३० युवामा पुगेका हुन् । फिनलिट नेपालका यी संस्थापकले सन् २००९ यता वितीय साक्षरताको अभियान चलाइरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्