Logo
Logo

काटिएका रूख व्यवस्थापन नहुँदा राज्यको करोडौँ गुम्दै


हिक्मत बम


धनगढी । कैलालीको सहजपुर, वीपीनगर, बोगटान सडकखण्ड अन्तर्गत काटिएका सामुदायिक वनका साल तथा सल्लाका रुखहरूको उचित व्यवस्थापन हुन सकेको छैन ।

सम्बन्धित सरोकारवाला निकाय सब डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय, सामुदायिक वनहरुले व्यवस्थापन गर्नतर्फ ध्यान नदिदा वन क्षेत्रमा लागेको डढेलोले काटिएका काठहरु जलेर नष्ट हुने अवस्थामा पुगेका हुन् ।

सरकार, वन मन्त्रालय, वन विभाग र वन निर्देशनलायको अनुमतिपछि रुख काटिएको सहजपुर, वीपीनगर, बोगटान सडकखण्ड अन्तर्गत पर्ने सामुदायिक वनका काठहरुको उचित व्यवस्थापन नहुँदा चुरेको वन क्षेत्रमा लागेको डढेलोले काठहरु जलेर नष्ट भएका छन् भने जल्ने अवस्थामा पनि पुगेका छन् । जसले गर्दा उक्त क्षेत्रका सामुदायिक वनहरुको राजश्वमा ठूलो नोक्सानी हुने देखिन्छ ।

सरोकारवाला निकाय र सामुदायिक वनका पदाधिकारीले काटिएका रुखहरूको काठ व्यवस्थापनमा चाँसो नदिँदा काठहरू जलेर नष्ट भएको हो ।

समयमै काटिएका रुखहरूको व्यवस्थापन नहुँदा वनमा लागेको डढेलोले काठ जल्न थालेको छ । ‘रुखहरू धमाधम काटिए, चुरे गाउँपालिका ३ का एक स्थानीयले भने, ‘तर काठहरू संकलन गरेर अहिलेसम्म घाटगद्दी गरी सुरक्षित नराख्दा डढेलोले सखाप हुँदै जान थालेको हो ।’ स्थानीयका अनुसार रुख काटेर बेवारिसे अवस्थामा छोडिएका काठ डढेलोले जल्दा सामुदायिक वनको करोडौंको राजश्वमा हानीनोक्सानी हुनेछ ।

‘सामुदायिक वनका पदाधिकारीहरू प्रकृतिक स्रोत साधन र सम्पत्तिको संरक्षण गर्ने भन्दापनि कमाउ धन्दामा लागेका छन्’ अर्का स्थानीयले भने । ‘नयाँ काटिएका रुखहरूको काठ संकलन गरेर घाटगद्दी समयमै गरिनुपर्ने हो तर ढिलाइ भयो । काठ संकलन गरेर ढिलाई गर्नुको कारण हो, ती काठहरु रातारात चोरीनिकासीसंगै गायव पार्ने र केहीमा चाहीँ आगो लगाएर डढेलोले सखाप भयो भन्ने प्रतिवेदन तयार पार्ने योजना ठेकदार, वन कर्मचारी र तस्करहरुको रहेको छ ।’ उनले बताए ।

सामुदायिक वनमा पदाधिकारीले निजी स्वार्थका लागि आफैले सामुदायिक वनमा डढेलो लगाउने गरेको समेत स्थानीयको आरोप छ । निर्माणाधिन धनगढी सहजपुर, वीपीनगर, बोगटान सडकखण्ड अन्तर्गत कैलालीको चुरे गाउँपालिकामा रहेको गुप्तपानी सामुदायिक वन, जनजागृति सामुदायिक वन र सलाघारी सामुदायिक वनबाट चार सय ३८ वटा साल र सल्लाका रुख काटिएको डिभिजन वन कार्यालय कैलालीले जानकारी दिएको छ । ती मध्ये ८२ वटा रुख गुप्तपानी सामुदायिक वनमा काटिएको छ ।

डिभिजन वन कार्यालयका अनुसार जनजागृति सामुदायिक वनमा सल्लाका ७५ रुख काटिएको छ । तर काटिएका रुखहरू बेवारिसे छोडिएका छन् । जसले गर्दा डढेलोले काठ जलेर नष्ट भएका छन् भने जल्ले अवस्थामा पनि छन् । सामुदायिक वनका पदाधिकारीले समयमै ध्यान नदिँदा काठ जलेर करोडौँको नोक्सानी हुने अवस्थामा रहेको स्थानीयको आरोप छ ।

तर सामुदायिक वनमा लागेको डढेलोको काठ जलेको भन्ने विषयमा जनजागृति समुदायिक वनका अध्यक्ष धनबहादुर कठायतलाई बुझ्दा नयाँ काटिएको रुखहरू आगलागीमा नपरेको दाबी गरे । ‘केही दिन अघि रुखहरू काटिएका हुन, हामीले बेवारिसे छोडेका छैनौँ,’ उनले भने ।

तर, चुरे गाउँपालिका वडा नम्बर ३ मा पर्ने गुप्तपानी सामुदायिक वन, जनजागृति सामुदायिक वन र सालघारी समुदायिक वनमा एक सातादेखि डढेलो लागेको स्थानीयले बताएका छन् ।

सबैभन्दा बढी सल्लाघारी सामुदायिक वनमा दुई सय ५० रुखहरू काटिएका छन् । सल्ला र सालगरी दुई सय ५० रुख काटिएको छ । सडक निर्माणका लागि काटिएकाहरू रुखहरूको काठ व्यवस्थापनको काम तदारुकताका साथ भइरहेको सब डिभिजन कार्यालय सहजपुरका सहायक वन अधिकृत जिवछा यादवले बताए ।

चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुरदेखि वडा नम्बर १ शिवनगरसम्मको १८ किलोमिटरको दुरीमा पर्ने सामुदायिक वनहरुमा सडक निर्माणका लागि काठ काटिएपनि त्यसको व्यवस्थापन नहुँदा र बेवारिसे अवस्थामा छोड्दा काठहरु चोरी निकासीसंगै वनमा लागेको डढेलोले जलेर सखाप हुने खतर बढेको छ ।

प्रतिक्रिया दिनुहोस्