Logo
Logo

नेपाल त्रिकोणात्मक सिरिजको फाइनलमा


दृष्टि संवाददाता


काठमाडौं । नेपाल जारी त्रिकोणात्मक टी २० सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित नेदरल्याण्ड्स र मलेसियाको टी–२० खेल बराबरीमा सकिएसँगै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालले शनिवार नेदरल्याण्ड्ससँग सिरिजको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १० दशमलव २ ओभरमा ६८ रन बनाउँदा पानीले खेल रोकियो । पानी रोकिएपछि १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याड्सले ४ विकेट गुमाएर एक सय सात रन बनायो र डीएल मेथडका आधारमा मलेसियाले १ सय २० रनको लक्ष्य पायो ।

नेदरल्याण्ड्सले दुई मुख्य खेलाडी म्याक्स ओ डोड र स्कट उडवार्ड्सलाई आराम दिएको थियो । २२ रन हुँदा ३ विकेट गुमाएको नेदरल्याण्ड्सका लागि बेन कुपर र कप्तान पिटर सिलारले ६८ रनको साझेदारी गरेका थिए ।

कुपरले ३२ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा अविजित ५४ रन बनाए । कप्तान सिलारले ३७ रन जोडे । एन्टोनिओस स्टाल १० रनमा अविजित रहे । मलेसियाका लागि मुहम्मद वाफिकले २ तथा पवनदिप सिंह र विरनदिप सिंहले १–१ विकेट लिए ।

१०८ रनको लक्ष्य पछ्याएको मलेसियाले ६ ओभरमा ५६ रन बनाउँदा वर्षा भयो र फेरि खेल रोकियो । वर्षा रोकिएपछि खेल १० ओभरमा छोट्याइयो र मलेसियाले ९२ रनको नयाँ लक्ष्य पायो ।

मलेसियालाई अन्तिम ६ बलमा ७ रन चाहिएको थियो । सुरुको चार बलमा मलेसियले ४ रन जोड्यो । तर पाँचौ बलमा नेदरल्याण्ड्सका भिनय किङ्ग्माले अमिनुद्दिन राम्लीलाई एलबीडब्लू धराापमा परेपछि जितका लागि अन्तिम बलमा २ रन चाहियो । तर मलेसियाले १ रन मात्र जोड्यो र स्कोर टाई भयो ।

यससँगै ४ खेलबाट ५ अंक जोडेको नेदरल्याण्ड फाइनलमा पुग्यो भने ४ अंक जोडेको घरेलु टोली नेपाल पनि अन्तिम खेल अघि नै अन्तिम दुईमा स्थान बनाउन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्