भारतमा कोरोना संक्रमितको संख्यामा रेकर्ड, महाराष्ट्रमा पूर्ण लकडाउन « Drishti News – Nepalese News Portal
Logo

भारतमा कोरोना संक्रमितको संख्यामा रेकर्ड, महाराष्ट्रमा पूर्ण लकडाउन


दृष्टि संवाददाता


एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्यामा रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा पहिलो पटक एकै दिन संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख १५ हजार ८०२ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि (सोमबार) वैशाख ८ मा भारतमा दोस्रो धेरै २ लाख ९४ हजार २९० जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख २४ हजार ८०६ पुगेको छ । भारतमा १ करोड ३४ लाख ४९ हजार ४०६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ९० हजार ७२८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार १०२ जनाको मृत्यु भएको छ ।

सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ । महाराष्ट्रमा गएको २४ घण्टामा ६७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने पाँच सय ६८ जनाको ज्यान गएको छ ।

अब आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । महाराष्ट्र राज्यमा विवाह उत्सवमा २५ जनालाई मात्र सहभागी हुन पाउने भएका छन् भने सार्वजनिक बसमा ५० प्रतिशत मात्रै यात्रुलाई चढाउन पाइने छ ।

लकडाउनभर सरकारी कार्यालयमा १५ प्रतिशत मात्रै कर्मचारी रहने छन् भने लोकल रेलमा कामका लागि मात्रै यात्रा गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्