Logo
Logo

नेपाल सुपर लिगको पहिलो संस्करण भोलिबाट


दृष्टि संवाददाता


काठमाडौं । नेपाल सुपर लिगको पहिलो संस्करण शनिबारबाट काठमाडौंमा सुरु हुने भएको छ । सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा शनिबार काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बीच प्रतिस्पर्धा हुनेछ ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख पाउने भएका छन् । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिगको विजेताले ३५ लाख पाउने जनाएको छ ।

यस्तै उपविजेताले १५ लाख पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । जेठ १ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ ।
त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्