Logo
Logo
सुदूरपश्चिममा भयावह बन्दै कोरोना

प्रयोगविहीन आइसियू र भेन्टिलेटर, ज्यान गुमाउँदै संक्रमित


हिक्मत बम


धनगढी । शुक्रबार सुदूरपश्चिममा थप ९४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा दुई सय २७ नमूना परीक्षण गर्दा थप ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६३ जना, महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

त्यस्तै, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जना र अछामको कमलबजार प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको प्रवक्ता कार्कीले बताए । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ६ सय ६९ पुगेको छ, जसमध्ये १४ हजार एक सय एक जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कारोना संक्रमितहरु बढ्दै गएसँगै ज्यान गुमाउनेको संख्या पनि बृद्धि हुँदै गएको छ । तर, सुदूरपश्चिम प्रदेशको प्रादेशिक सेती अञ्चल अस्पताललगायतका जिल्ला अस्पतालहरुमा भएका आइसियू र भेन्टिलेटर प्रयोगमा नआउँदा कोरोना संक्रमित बिरामीले उपचार नै नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यता रहेको छ ।

कोरोना संक्रमितहरु बढ्दै गएपछि संक्रमितहरुले सजिलै उपचार गर्न पाउन् भनेर सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका १० वटा अस्पतालमा पाँच महिनाअघि दुई÷दुई वटाका दरले २० वटा भेन्टिलेटर र २० वटा आइसियू जडान गरेको थियो । तर, ती अस्पतालहरुमा दक्ष जनशक्ति र प्राविधिक नहुँदा जडान गरिएका आइसियू र भेन्टिलेटरहरु प्रयोगविहीन अवस्थामा रहेका छन् ।

सेती प्रादेशिक अस्पताल, महाकाली र डडेल्धुरा अस्पतालमा मात्र उपकरण प्रयोगमा भएपनि दक्ष जनशक्ति र प्रविधिकहरु नहुँदा सेवा प्रवाहमा ढिलासुस्ति भएको सेवाग्राहीहरुले बताउने गरेका छन् ।

अन्य सातबटा जिल्ला अस्पतालमा जडान गरिएका आइसियू र भेन्टिलेटरहरु जनशक्ति नहुँदा प्रयोगमा ल्याउन नसकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । जसले गर्दा कोरोनाका संक्रमितहरुले समयमै उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता छ ।

सुदूरपश्चिम प्रदेशका सीमानाकामा भारतबाट नेपाल फर्किनेको भिड लाग्न थालेपछि दोस्रो लहरको कोरोना सुदूरपश्चिममा गाउँस्तर सम्मै फैलिन थालेपछि जोखिम झन बढ्दै गएको हो । संक्रमण दर दिनप्रति दिन बढ्दै गएसंगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।

अहिले जटिल अवस्थाका संक्रमित बढेका छन् । संक्रिमितहरु बढ्दै जान थालेपछि स्वास्थ्य संरचनाले धान्न नसक्ने भन्दै आवश्यक उपकरण र जनशक्ति थप्नुपर्ने सुझाव चिकित्सकहरुले दिएपनि सरोकारवाला निकायले यसतर्फ ध्यान नदिएको बताइन्छ । तर सुदूरपश्चिमका अस्पतालहरुमा जडान गरिएका आइसियू र भेन्टिलेटर आवश्यक जनशक्तिको नहुँद्या प्रयोग आउन सकेका छैन ।

उपचार नपाउँदा संक्रमितको मृत्यु
दक्ष जनशक्ति र प्रविधिकको अभावमा सुदूरपश्चिम प्रदेशमा रहेका आइसियू र भेन्टिलेटर प्रयोगविहीन हुँदा बझाङको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

जिल्ला अस्पताल बझाङमा उपचार गरिरहेका पुरुषको उक्त अस्पतालमा दक्ष जनशक्ति र प्राविधिकहरु नहुँदा उपचार सम्भव नभएपछि कोहलुर रेफर गरिएको थियो । तर कोहलपुर पुग्न नपाउँदै उनको बाटोमै मृत्यु भयो ।

बझाङ जिल्ला अस्पतालमा दुई थान भेन्टिलेटर छन । तर चलाउने जनशक्ति नहुँदा बिरामीलाई कोहलपुर रेफर गरिएको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए । उनले भने, ‘पुरुषको कोहलपुर पुग्न नपाउँदै बाटोमै मृत्यु भयो । प्रदेश सरकारले जिल्ला अस्पतालमा दुई थान भेन्टिलेटर पठाएको थियो । तर चलाउने दक्ष जनशक्ति र प्राविधिक नहुँदा ती दुवै भेन्टिलेटर थन्किएका छन् । जिल्ला अस्पतालमा रहेको पीसीआर पनि जनशक्तिको अभावमा त्यस्तै थन्किएका छन्र ।’
त्यस्तै, डोटी जिल्ला अस्पताल जडान गरिएका आइसियू र भेन्टिलेटर दक्ष जनशक्ति र प्राविधिकको नहुँदा उपकरण प्रयोगमा आउन नसकेको बताइन्छ ।

भएका उपकरण थन्किएकाले गम्भीर अवस्थाका बिरामीलाई जिल्ला बाहिरका अस्तालमा पठाउनुपर्ने बाध्यता रहेको छ । गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्दै जान थालेपछि सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरु भरिभराउ हुन थालेका छन् । तर दक्ष जनशक्ति नहुँदा बिरामीहरुले उपचार पाउन सकेका छैनन ।

यता प्रदेश स्वास्थ्य आपूर्ति यव्यवस्थापन केन्द्रले थप एक सय २५ वटा आइसियू खरिद गरेर जिल्ला अस्पतालहरुमा जडान गरिरहेको छ । तर दक्ष जनशक्तिको नहुँदा ती उपकरणहरु पनि थन्किने देखिन्छन । त्यसैले उपकरण थप्नु भन्दापनि दक्ष जनशक्ति खोजेर प्रयोगविहीन अवस्थामा रहेका उपकरणहरु सञ्चालनमा ल्याउन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्