Logo
Logo

निर्मला हत्या प्रकरणः डिएसपीसहित पाँच पक्राउ, आठविरुद्ध मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २३ फागुन ।
निर्मला पन्त हत्या प्रकरणमा डिएसपीसहित पाँच प्रहरी पक्राउ परेका छन् । हाल अवकाश पाएका डिएसपी ज्ञानबहादुर सेठीसहित पाँच जना पक्राउ परेका हुन् ।

अनुसन्धानको यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाका अनुसार यातना दिएको अभियोगमा एसपी विष्टसहित तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

सरकारले निर्मला प्रकरणमा तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार डिएसपी ज्ञानबहादुर सेठीसहित ६ जना प्रहरीलाई पक्राउ गरी बुधबार जिल्ला अदालत कञ्चनपुर उपस्थित गराइएको थियो । उनीहरु सबै कञ्चनपुर प्रहरीको हिरासतमा रहेको प्रवक्ता सुवेदीले बताए ।

एसपी विष्ट र अंगुर जिसी भने फरार छन् । उनीहरुलाई पाँच वर्ष कैद सजाय माग गरिएको छ ।
गत १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । जून घटनाको अनुसन्धानमा प्रहरीले चरम लापरबाही गरेको थियो । छानबिन समितिका प्रतिवेदनका आधारमा उनीहरुलाई पाँच वर्ष कैद माग गरी मुद्दा दायर भएको हो ।
निर्मलाका हत्यारा भने अझै पत्ता लागेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्