Logo
Logo

धेरै सफलता, थोरै असफलता : इतिहासमै पहिलोपटक हिरासत खाली


दृष्टि संवाददाता


काठमाडौं । २०७७ साल नेपालको इतिहासकै एउटा जटिल वर्ष बन्न पुग्यो । कोरोना महामारीले सम्पूर्ण विश्व नै अस्तव्यस्त भएको वर्ष सुरक्षा निकाय पनि प्रभावित नहुने कुरा भएन । नेपाल प्रहरीका लागि २०७७ साल थप चुनौतीपूर्ण वर्ष बन्यो ।

गत वर्ष नियमित पुलिसिङभन्दा प्रहरी कोराना संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा खटिनुप¥यो । पर्याप्त स्रोत साधन र जनशक्तिको अभावमा पनि नेपाल प्रहरी यो फरक जिम्मेवारीमा धेरै हदसम्म सफल भयो । अपराध अनुसन्धानमा पनि केही विषयमा कमजोरी भएपनि समग्रमा भने प्रहरीले गत वर्ष विगतमा भन्दा राम्रो काम गरेको तथ्यांक छ । तर, पनि संगठनमा राजनीतिक हस्तक्षेप र सरकारको असहयोगले उत्साह भने जगाउन सकेन ।

 

एक वर्षमा दुई आइजी
गत वर्ष नेपाल प्रहरीको नेतृत्व दुई प्रहरी महानिरीक्षकले सम्हाले । सुरुमा ठाकुरप्रसाद ज्ञवाली र पछि शैलेश थापा क्षेत्री । छोटो अवधि प्रहरी नेतृत्वमा पुगेका ज्ञवालीको कार्यकाल लकडाउनमै बित्यो, केही काम पनि गर्न पाएनन् र, विवादमा पनि परेनन् । असार २६ गते शैलेश थापा क्षेत्री महानिरीक्षकमा नियुक्त भएका थिए । क्षेत्री प्रहरी इतिहासमा अहिलेसम्मकै इमान्दार अधिकृत भएको टिप्पणी धेरै प्रहरी अधिकारीहरुको छ ।

उनको प्रहरी नेतृत्व सम्हालेको करिब नौ महिना भएको छ । यो अवधिमा धेरै सुधार गर्न नसकेपनि संगठनलाई बिग्रन भने दिएका छैनन् । प्रहरीको सामान खरिदमा हुने भ्रष्टाचार धेरै हदसम्म नियन्त्रणमा आएको छ ।

प्रहरीका सिनियर अधिकृतहरुसमेत कारबाहीमा परेका छन् । रामेश्वर यादब र विमल बस्नेतलाई घुस प्रकरणमा निलम्बन गरियो । राम्रो काम गर्न नसक्ने जिल्ला इन्चार्जहरुलाई महानिरीक्षक क्षेत्रीले हटाएका छन् । अपराध अनुसन्धानलाई विवादरहित बनाउने प्रयास उनको नेतृत्वमा भएको छ ।

तर, गृह मन्त्रालयको असहयोग र राजनीतिक हस्तक्षेपले प्रहरी संगठनमा केही नकारात्मक असर परेको छ । सत्तानिकट विश्वराज पोखरेललाई यसपछिको महानिरीक्षक बनाउन दरबन्दी नै थप गरेर एआइजी बढुवा गरियो । यो घटनाले प्रहरीका इमान्दार अधिकृतहरुको मनोबल घटाउने काम गरेको छ । कोरोनामा दुःखमा खटिएका प्रहरीले राज्यबाट जोखिम भत्ता समेत पाएनन् । ६ वर्षदेखि रासन बढ्न सकेको छैन । प्रहरीका समस्यामा गृह मन्त्रालय असहयोगी हुँदा प्रहरीमा धेरै उत्साह जाग्न भने सकेको छैन ।

फरार पक्राउमा सफलता

यो अवधिमा अदालतबाट दोषी ठहर भई फरार रहेकाविरुद्ध प्रहरीले देशव्यापी रुपमा थालेको अभियान सफल देखिएको छ । चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा चार हजार सात सय ५ जना फरार अपराधी पक्राउ परेका छन् । गत आर्थिक वर्षमा दुई हजार तीन सय ३२ मात्र पक्राउ परेका थिए । गत वर्षको तुलनामा यो वर्ष झन्डै दोब्बर पक्राउ परेका छन् ।

गृह मन्त्रालयको असहयोग र राजनीतिक हस्तक्षेपले प्रहरी संगठनमा केही नकारात्मक असर परेको छ । सत्तानिकट विश्वराज पोखरेललाई यसपछिको महानिरीक्षक बनाउन दरबन्दी नै थप गरेर एआइजी बढुवा गरियो । यो घटनाले प्रहरीका इमान्दार अधिकृतहरुको मनोबल घटाउने काम गरेको छ ।

प्रहरी महानिरीक्षक क्षेत्रीले फरारविरुद्ध बिशेष अभियान चलाउँन जिल्ला इन्चार्जहरुलाई निर्देशन दिएका थिए । सोहीअनुसार यो अभियानले तिव्रता पाएको हो । फरार अपराधीबाट आठ महिना २४ करोड ३५ लाख २३ हजार ५३ रुपैयाँ जरिवाना तथा दुई हजार नौ सय १० वर्ष कैद सजाय पनि भुक्तान गराएको छ । कानून कार्यान्वयनलाई थप सशक्त बनाउन थालिएको अभियानले सफलता पाएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवर बताउँछन् ।

आठ महिनाको अवधिमा राजश्व संकलनमा प्रहरीको योगदान पनि बृद्धि भएको छ । यो अवधिमा दुई अर्ब १२ करोड ७४ लाख ५७ हजार रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा एक अर्ब ५७ करोड ५२ लाख रुपैयाँ प्रहरीबाट संकलन भएको थियो ।
प्रहरी महानिरीक्षक क्षेत्रीले प्रहरी नेतृत्व सम्हाल्लेको ९ महिनामात्र भएको छ । यो अवधिमा केही सकारात्मक सूचकांक देखिएका छन् । बेरुजु फछ्यौंटमा पनि नेपाल प्रहरी उत्कृष्ट भएको छ । ९५ प्रतिशतभन्दा धेरै बेरुजु फछ्यौट भएको छ ।

सामाजिक अपराधका चुनौती

कोरोना महामारीका बीच गत वर्ष केही देश हल्लाउने अपराध भए । बैतडीकी बालिका भागिरथीको बलात्कारपछि हत्या भएको गम्भीर घटनादेखि चौरजहारीमा जातको आधारमा निर्मम हत्याका घटना भयो । भागिरथी घटना कतै निर्मला पन्तको जस्तै हुने त होइन भन्ने आशंका थियो, तर प्रहरीले सफल अनुसन्धान गरेर प्रहरीप्रतिको सर्वसाधरणको विश्वास बढाउने काम गरेको छ । यद्यपि, निर्मला पन्त प्रकरण भने यो वर्ष पनि सुल्झन सकेन ।

सामाजिक अपराध भने ह्वात्तै बढ्न थालेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७७ साउनयता कर्तव्य ज्यान सम्बन्धि ६ सय ६९ तथा ज्यान मार्ने उद्योगसम्बन्धी ८ सय २ दर्ता भएका छन् ।

चोरी सम्बन्धी २ सय १३, लागु औषध कारोबारसम्बन्धी २ हजार ६ सय २६, अपहरणसम्बन्धी ८८ वटा, जबरजस्ती करणसम्बन्धी १७ सय १९, बालबालिकामाथि यौन दुराचारसम्बन्धी १ सय ४९, बोक्सीको आरोपसम्बन्धी ६० वटा र बैंकिङ कसुरसम्बन्धी १ सय ४३ लगायत गरी विभिन्न अपराधका २१ हजार ५ सय ५८ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । बलात्कारसम्बन्धि घटना विगतमा भन्दा बढेका छन् भने आत्महत्याको घटना पनि बढेको छ । हत्याका घटनामा धेरै जसो आफन्त नै संलग्न हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गोंगबु प्रकरणदेखि दम्पतीको हत्यासम्म
गत वर्षको सनसनीपूर्ण अपराधमध्ये एक गोंगबु घटना हो । एक महिलाले क्रुर तरिकाले एक व्यक्तिको हत्या गरी शव टुक्रा बनाएर फालिदिइन् । गोंगबुमा डेरा गरेर बस्ने चितवनकी कल्पना पौडेल मुडभरीले कृष्णबहादुर बोहराको हत्या गरेपछि उनको शवलाई टुक्रा–टुक्रा पारेर सुटकेसमा प्याक गरेर शव फालेकी थिइन् ।

लकडाउनकै बेला बोहराको हत्या गरेर उनी चितवन भागेकी थिइन् । आफ्नी छोरीमाथि आँखा लगाएको तथा आफ्ना गोप्य फोटोहरु फेसबुकमा हालेको रिसमा बोहरालाई बेहोस हुने औषधी खुवाएर हत्या गरेको अदालतमा अभियोग स्वीकार गरेकी थिइन् । उनलाई जन्मकैदको फैसला भएको छ ।

गत वर्ष रूपन्देहीको तिलोत्तमा–१० मा एकजनाले ५ जनाको विभत्स हत्या गरे । गाईफार्ममा सुतिरहेको मौका छोपेर जेठ २६ मा राति झपेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेका हुन् ।

गंगादेवी पशु फार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, किशोर करन चौधरी र आशिष चौधरीको हत्या आरोपमा झपेन्द्र पक्राउ परेका थिए । आफूलाई पशुसँग जोडेर यातना दिएको अभियोगमा हत्या गरेको उनको बयान थियो । प्रेमिका भगाउन जाँदा जाजरकोटका नवराज विकसहित पाँच जनाको लखेटी–लखेटी हत्या भयो । तल्लो जातको भएको आधारमा त्यसरी हत्या भएको थियो । जुन घटना गत वर्षको ठूलो अपराधमध्ये एक बन्यो ।

मोरङमा रहस्यमय हत्या

मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीन बाँस्तोलाको हत्या प्रकरणपनि प्रहरी अनुसन्धानमाथि प्रश्न उठ्यो । सुरुमा प्रहरीले भवितव्य भनेको घटना पनि हत्यामा परिणत भयो । पुस ४ मा साथीहरुसँग मदिरा सेवन गरेका प्रवीन बिहान अचेत अवस्थामा भेटिएका थिए ।
उर्लाबारी–७ का रमेश गिरीको घरमा साथीको डेरामा अचेत अवस्थामा भेटिएको भनिएका प्रवीनलाई साथीहरुले नै गोदावरी अस्पतालमा लगेका थिए । पोष्टमार्टममा मृत्युको कारण खुल्न नसकेपछि प्रहरीले विस्तृत अनुसन्धान गरेन । पछि मृतकका आफन्तले आन्दोलन गरेपछि ६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

वर्षको अन्तिमतिर महोत्तरीमा झा दम्पत्ति हत्या प्रकरण पनि ठूलै चर्चामा रह्यो । हत्या गरेको करिब महिनादिनपछि पिपरा गाउँपालिका–५ सहोडबाका ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीता देवी झाको शव भेटिएको थियो ।

फागुन ११ गतेदेखि वेपत्ता भएका थिए । दुबैको शव गाडिएको अवस्थामा १२ चैतमा पिपरा गाउँपालिका २ मा फेला परेको थियो । घटनामा संलग्न ६ जना पक्राउ परेका छन् । जग्गा बेच्न नमानेको आरोपमा उनीहरुको हत्या भएको थियो । छिमेकीले नै तीन सातासम्म आफ्नै घरमा शव लुकाएर राखेका थिए ।

इतिहासमा पहिलोपटक प्रहरी हिरासत खाली

विसः २०७७ साल प्रहरी इतिहासमा एउटा अनौठो घटना भयो । प्रहरीका दर्जनौं हिरासत कक्षहरु पहिलोपटक थुनुवाविहिन भए । लकडाउनका कारण अपराध लगभग शून्य अवस्थामा झरेको थियो । जसकारण गत वर्ष वैशाखमा काठमाडौं परिसरलगायतका हिरासत कक्षमा थुनुवाको संख्या शून्य पुगेको हो ।

गत वर्ष ११ चैतेदेखि लकडाउन सुरु भएको थियो । चैत, बैशाख र जेठमा कडा लकडाउन भयो । जसकारण सर्वसाधरण घरबाहिर निस्कनै पाएनन् । यसले अपराध केही समय शून्यजस्तै अवस्थामा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्