ठिमुराको पुल फेरि भत्कियो : एकको मृत्यु, आठ घाइते « Drishti News – Nepalese News Portal
Logo

ठिमुराको पुल फेरि भत्कियो : एकको मृत्यु, आठ घाइते


दृष्टि संवाददाता


चितवन । चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशुली नदीमाथि बन्दै गरेको मोटर गुड्ने पुल पुनः भत्कँदा काम गर्दै गरेका एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयलयका अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षीय विजय यादव रहेका छन् । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये आठ जना सामान्य छन् । उनीहरुको पनि सोही कलेजमा उपचार भइरहेको छ । बेपत्ता हुनेमा भारतको विहार घर भएका श्यामबाबु पाठक र सुनिल माझी छन् । उनीहरुको खोजी भइरहेकोे छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान पुलमा काम गर्दै गर्दा फलामसहित मजदूर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएकाको उद्धार गरिएको उहाँले जानकारी दिए ।

निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो । सो स्थानमा १४ मजदूरले काम गरिरहेका थिए । ठिमुरा र देवघाट गाउँपालिका–५, घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्