काठमाडौं । समाचार लेखेकै कारण प्रहरीले पक्राउ गरेका पत्रकार अनिस तामाङलाई विनाशर्त अविलम्ब रिहा गर्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले माग गरेको छ ।
प्रहरीले कार्यालय प्रवेश गरी उज्यालो नेटकवर्क डटकमका कार्यकारी सम्पादक अनिस तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी कार्य रहेको भन्दै फोजिनले तत्काल रिहा गर्न माग गरेको हो ।
फोजिनका संगठन सचिव मिलन लिम्बूद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘उज्यालो नेटवर्कमा प्रकाशित समाचारबारे विवाद प्रेस काउन्सिल नेपालले निरुपण गरिसकेको र उच्च अदालतले उक्त समाचारकै आधारमा पत्रकारहरुमाथि धरपकड नगर्न आदेश दिइसकेको सन्दर्भमा सोही समाचारका विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्नु, धरपकड गर्नु प्रेस स्वतन्त्रताको ठाडो उल्लङघन र निरंकुशता प्रदर्शन हो ।’
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको छ । समाचारका विषयमा चित्त नबुझे त्यससम्बन्धी उजुरी लिने र आवश्यक कारबाही गर्ने सम्पूर्ण जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई रहेको भन्दै यस प्रकारका प्रेस स्वतन्त्रता विरोधी कार्य रोक्न समेत फोजिनले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।