Logo
Logo

पक्राउ परेका पत्रकारलाई विनाशर्त रिहाइ गर्न महासंघको माग


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासंघले उज्यालो नेटवर्कका दुई जना पत्रकारलाई विनाशर्त रिहाइ गर्न माग गरेको छ ।

प्रहरीले कार्यालय प्रवेश गरी उज्यालो नेटकवर्क डटकमका कार्यकारी सम्पादक अनिस तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी कार्य रहेको भन्दै दुबै जना पत्रकारलाई नि:शर्त रिहाइ गर्न माग गरेको हो ।

‘समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टी जनाउने त्यसका निश्चित विधि र प्रक्रिया छन् । त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार हो भन्ने महासंघको ठम्याइ छ । ’ आइतबार महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गर्ने विषयलाई महासंघले गम्भीर रूपमा लिएको पनि उनले उल्लेख गरेका छन्।

‘त्यस अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ। यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संबैधानीक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ। त्यतिमात्र होइन, यो घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रष्ट भएको छ,’ उनले भनेका छन्।

उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो। उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।

प्रतिक्रिया दिनुहोस्