Logo
Logo

गण्डकी सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै, जसपाको चार शर्त


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सोमबार (आज)देखि शुरू हुँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आजै अविश्वासको प्रस्ताव टेबल गर्ने तयारी गरिएको छ ।

अविश्वास प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) गरी २८ सांसदले हस्ताक्षर गरिसकेका छन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको जसपाले लिखित सहमति गरेरमात्रै अगाडि बढ्नुपर्ने भएको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ दलमध्ये जसपाले अविश्वासको प्रस्ताव टेबुल हुनुअगावै सत्ता र शक्ति बाँडफाँडमा लिखित सहमति हुनुपर्ने सर्त राखेको हो ।

सत्तामा गएपछि सहकार्य गर्ने दलबीच तिक्तता नआओस् भनेर पार्टीले नयाँ सरकार गठन हुनुअगाडि ४ सर्त अगाडि सारेको जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले जनाएका छन् । गण्डकी प्रदेशसभामा ६० सांसद रहेका छन् । त्यसमध्ये एमालेका पक्षमा २७ सांसद छन् भने स्वतन्त्रमा मनाङ ‘ख’बाट निर्वाचित दिपक मनाङेले नेकपालाई समर्थन रहेको छ ।

यस्तै, माओवादी केन्द्रका १२, कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद छन् । जसपाका २ सांसदसहित कांग्रेस र माओवादी केन्द्रका २८ जना सांसदको हस्ताक्षरमा यही २ वैशाखमा प्रदेश सभामा अविश्वास प्रस्ताव पेश गरिएको थियो । सभामा सरकार ढाल्न ३१ मत आवश्यक पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्