Logo
Logo

सट्टेबाजका नाइकेलाई संरक्षण


दृष्टि संवाददाता


काठमाडौं । कोरोना महामारीका बीच भारतमा क्रिकेट प्रतियोगिता रोकिएको छैन । भारतमा हुने यस्तो प्रतियोगितामा नेपालमा समेत करोडौंको अवैध कारोबार भइरहेको छ ।

काठमाडौैं प्रहरीले आइतबार उपत्यकामा इन्डियन प्रिमियर लिग(आइपिएल)मा सट्टेबाजी खेलाएको आरोपमा केहीलाई पक्राउ गरेको छ । तर, पक्राउ परेकाहरु सामान्य एजेन्ट मात्र हुन् । सट्टेबाजका मुख्य नाइकेहरुलाई भने प्रहरीले जोगाएको छ ।

सट्टेबाज खेलाउने उपत्यकामा ठूला गिरोहरु छन् । जसले दिनमै करोडौं कारोबार गर्दछन् । यस्ता गिरोहका नाइकेहरुको प्रमुखका हाकिमसँगै उठबस रहेको स्रोत बताउँछ ।

विगतमा पक्राउ परेका अन्जन केसी, भुपेन कुँवर लगायतको समूहले अझै सट्टबाजको धन्दा चलाइरहेको काठमाडौं प्रहरी स्रोत बताउँछ । गौरव तिवारी लगायतको समूहले पनि यो काम छाडेको छैन । दुवै समूहको काठमाडौंका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङसँग दोस्ती छ ।

खासगरी मारवाडी व्यापारीले सट्टेबाजमा मोटो रकम लगानी गर्दै आएका छन् । उनीहरु गोप्य अखडामा जम्मा भएर सँगै आइपिएल हेर्ने र बाजी खेल्ने गरेका छन् । त्यस्ता सूचना पाउँदा पनि प्रहरीले कारबाही गरेको छैन । केहीलाई भने पक्राउ गरेर त्यतिकै छाडिदिने गरेको छ । गुन्डागर्दीमा संलग्न कतिपय व्यक्ति समेत सट्टेबाजको धन्दामा छन् ।

प्रतिक्रिया दिनुहोस्