काठमाडौं । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा झापा र सुनसरीका एक, एक र प्रदेशबाहिर धनुषाका एक जना रहेका छन् ।
मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल, विराटनगरको कोसी अस्पताल कोभिड–१९ र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।
विराटका कोभिड–१९ अस्पताल इन्चार्ज सुनिल देवका अनुसार सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबार राति बजेतिर मृत्यु भएको हो ।
श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि महिलालाई केहि दिनअघि उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा बुधबार दिउँसो रिपोर्ट पोजिटिभ आएपछि आफन्त र परिवारका सदस्यले उपचारका लागि कोसी कोभिड अस्पताल लगेका थिए ।
त्यस्तै, झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको आज बिहान ६ बजेतिर विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको थियो । कोरोना पुष्टि भएपछि गत वैशाख ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएका मृतकमा श्वासप्रश्वास र ज्वरोको समस्या रहेको कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।
अस्पताल भर्ना गरिएदेखि नै अवस्था गम्भीर रहेकाले सङ्क्रमित पुरुषलाई आईसीयूमा राखेर उपचार थालिएको भए पनि जीवितै राख्न नसकिएको उनको भनाइ छ ।
यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाका ६० बर्षीय वृद्ध पुरुषको उपचारको क्रममा कोभिड अस्पतालमा हिजो बेलुकी मृत्यु भएको छ । मृतक पुरुषमा हिजो बिहान मात्र उनलाई संक्रमण पुष्टि भएको थियो ।